इन्धन मूल्य समायोजन : डिजेल र मट्टितेल प्रतिलिटर एक रुपैयाँले घट्यो, हवाई इन्धन महँगियो
काठमाडौँ, १४ कात्तिक – नेपाल आयल निगमले पेट्रोलियम पदार्थको नयाँ मूल्य दर सार्वजनिक गरेको छ। निगम सञ्चालक समितिको आज बसेको बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर एक रुपैयाँले घटाउने, तर पेट्रोलको मूल्य यथावत राख्ने निर्णय गरेको हो।
नयाँ मूल्य राति १ बजेदेखि लागू हुनेछ। निगमका अनुसार हवाई इन्धनको मूल्य भने बढाइएको छ। आन्तरिक उडानका लागि प्रतिलिटर रु १ ले वृद्धि गरिएको छ भने अन्तर्राष्ट्रिय उडानका लागि काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ७ ले वृद्धि गरिएको छ।
निगमले इण्डियन आयल कर्पोरेशन (IOC) बाट प्राप्त नयाँ खरिद दरका आधारमा मूल्य समायोजन गरेको हो। नयाँ खरिद दरअनुसार प्रतिलिटर पेट्रोलमा रु ०.०३ ले वृद्धि, हवाई इन्धनमा रु ०.८६ ले वृद्धि, र डिजेलमा रु १.१९ ले घटोटी आएको निगमले जनाएको छ। यो समायोजनले डिजेल र मट्टितेल प्रयोगकर्तालाई राहत दिलाउने भए पनि हवाई इन्धनमा वृद्धिले हवाई भाडामा असर पर्न सक्ने अनुमान गरिएको छ।

