पर्यटक भन्छन् : ‘मानुङकोटको सुन्दरताले लोभ्यायो’

तनहुँ, ११ कात्तिक – तनहुँको व्यास नगरपालिका–५ स्थित मानुङकोट यतिबेला आन्तरिक पर्यटकको आकर्षणको केन्द्र बनेको छ। पोखराकी लक्ष्मी कार्की भन्छिन्, “सामाजिक सञ्जालमा मानुङकोटका दृश्यहरू देखेका थियौँ, तर आज प्रत्यक्ष हेर्दा झन् मनमोहक लाग्यो। यहाँबाट देखिने सूर्योदय र हिमशृङ्खलाले त लोभ्यायो।”

पोखराबाट सोमबार बिहान २ बजे गाडी भाडामा लिएर मानुङकोट पुगेकी कार्कीले टिकटक र फेसबुकमा देखेकाभन्दा यहाँको दृश्य अझ सुन्दर लागेको बताइन्। “मानुङकोटका बारेमा धेरै सुनेका थियौँ, त्यसैले साथीहरूसँग सल्लाह गरेर चार जना मिलेर आएका हौँ,” उनले थपिन्।

त्यस्तै, काठमाडौँकी लुनिभा श्रेष्ठले पनि मानुङकोटको सुन्दरताले मोहनी लगाएको बताइन्। “पहिले आउन मन थियो, तर समय मिल्दैनथ्यो। यो तिहार बिदामा अवसर जुटेपछि आइपुगेँ, दृश्यले त झन् मोहित बनायो,” उनले भनिन्। दमौलीका सुदीप गफ्फारका अनुसार यतिबेला मानुङकोटमा पर्यटकको अत्यधिक चहलपहल भएकाले होटल व्यवसायीसँग पहिल्यै सम्पर्क गरेर मात्र आउनु उपयुक्त हुन्छ।

चिसो मौसम सुरु भएसँगै मानुङकोटमा दैनिक एक हजारभन्दा बढी पर्यटक पुग्ने गरेका छन्। सोमबार बिहान मात्र करिब दुई हजार पर्यटकले सूर्योदय र हिमशृङ्खलाको दृश्य अवलोकन गरेका थिए। अम्ब्रेला रेष्टुराँका सञ्चालक शैलेश सुनामका अनुसार अहिले मानुङकोटमा पर्यटक सिजन चलिरहेको छ।

“दसैँ–तिहारको समयमा पर्यटकको भीड बाक्लो हुन्छ। सूर्योदय, कुहिरो र सूर्यास्तका दृश्यले यहाँ आउनेलाई आकर्षित गर्छ,” उनले बताए। उनका अनुसार रेष्टुराँमा प्रतिव्यक्ति रु १,२०० मा रातको बास, खाना र बिहानको नास्ता उपलब्ध गराइन्छ। “हाम्रो रेष्टुराँमा दैनिक ७० जनासम्म बास बस्ने सुविधा छ,” उनले जानकारी दिए।

पर्यटकको आगमन बढेपछि मानुङकोटमा होटलहरूको संख्या पनि तीव्र रूपमा बढेको छ। विगतमा होटल नहुने यो ठाउँमा अहिले एक दर्जनभन्दा बढी होटल सञ्चालनमा छन्। दृश्यावलोकनका लागि व्यास नगरपालिकाले स्तम्भ निर्माण गरेको छ भने सुरक्षाका लागि डाँडाको छेउमा रेलिङ र पैदलमार्ग निर्माण गरिएको छ।

मानुङकोटबाट धौलागिरि, माछापुच्छ्रे, अन्नपूर्ण, मनास्लु र लमजुङ हिमालको मनमोहक दृश्य अवलोकन गर्न सकिन्छ। दमौली बजार कुहिरोले ढाकिने दृश्य पौराणिक कथासँग पनि जोडिएको छ — किंवदन्ती अनुसार, महर्षि वेदव्यासका पिता परासर ऋषिले सत्यवतीसँग सम्भोग गर्ने बेला लोकलाई पत्तो नहोस् भनेर कुहिरो उत्पन्न गराएका थिए।

पर्यटक बढेसँगै पहिल्यै गाउँ छाडेर सहर झरेका स्थानीयहरू पनि अहिले मानुङकोट फर्केर व्यवसाय गर्न थालेका छन्। पहिले खानेपानीको अभावका कारण गाउँ खाली हुने अवस्था आए पनि अहिले प्रशोधित जार र ट्याङ्करको पानीले समस्या समाधान गरिएको छ। सडक सञ्जाल पनि उल्लेख्य सुधार भएको छ। सहरी विकास मन्त्रालयको लगानीमा अलैँचेबाट मानुङकोटसम्मको करिब चार हजार ३०० मिटर सडक कालोपत्र भएको छ।

कठिन भू–भागमा १८० मिटर आरसिसी ढलान गरिएको व्यास नगरपालिका कार्यालयले जनाएको छ। सामाजिक सञ्जालमा चर्चित बनेको मानुङकोट अब प्रत्यक्ष अवलोकन गर्न आउने हजारौँ पर्यटकको गन्तव्य बनेको छ— जहाँ सूर्योदय, कुहिरो र हिमशृङ्खलाको संयोजनले हरेक आगन्तुकलाई मोहित पारिरहेको छ।

Facebook Comments Box