विषादी मिसिएको पानीले कुलेखानीको माछा उत्पादनमा ह्रास

हेटौँडा, ११ कात्तिक – मकवानपुरको प्रसिद्ध कुलेखानी जलाशय (इन्द्रसरोवर) मा पछिल्ला वर्षहरूमा माछाको तौल र उत्पादन दुबै घट्दै गइरहेको छ। मत्स्य विकास केन्द्र कुलेखानी र इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घका अनुसार ताल वरपरका गाउँहरूमा हुने व्यावसायिक तरकारीखेतीमा प्रयोग हुने रासायनिक विषादी नै माछाको वृद्धि घट्नुको प्रमुख कारण बनेको हो।

करीब सात किलोमिटर लामो र ११ हजार १५६ घनमिटर क्षेत्रफलमा फैलिएको इन्द्रसरोवरमा हाल ४०० वटा पिँजरा (केज) राखेर प्रतिघनमिटर चार दशमलव पाँच किलोका दरले माछा उत्पादन भइरहेको सङ्घका उपाध्यक्ष विकास बलामीले जानकारी दिनुभयो। उहाँका अनुसार पछिल्ला वर्षमा माछाको औसत तौल र सङ्ख्या दुवै घट्दो क्रममा छन्।

बलामीका भनाइमा, वरपरका खेतमा प्रयोग हुने कीटनाशक र रासायनिक मल बर्सातमा खोलानाला हुँदै तालमा मिसिन्छ। “विषादी मिसिएको पानी तालमा पुग्दा माछाले खाने सूक्ष्म जीव (प्लाङ्कटन) र हरियो शैवालमा असर पुग्छ, जसले गर्दा माछा पहिलेको जस्तो गतिमा बढ्दैनन्,” उहाँले भन्नुभयो।

विशेष गरी सिल्भर कार्प, बिगहेड र ग्रास कार्पजस्ता चिसो पानीमा हुर्कने जातका माछा बढी प्रभावित भएका छन्। यी माछा प्राकृतिक रूपमा पाइने हरियो शैवाल र साना जीवजन्तुमा निर्भर हुने भएकाले ती स्रोत नष्ट हुँदा माछाको वृद्धि दर घटेको बताइन्छ।

सङ्घका अनुसार हाल ६५० परिवार माछा उत्पादन र बिक्रीमा संलग्न छन्। यसै आम्दानीले विद्यालय सञ्चालनदेखि सामुदायिक पूर्वाधार मर्मतसम्म सहयोग पुग्दै आएको छ। तर माछाको आकार घटेसँगै उत्पादक किसान अहिले आर्थिक घाटामा परेका छन्।

होटल सञ्चालक तथा माछा व्यवसायी पूर्ण थापा मगरका अनुसार विषादीको असरले तालको पारिस्थितिक सन्तुलन नै बिग्रँदै गएको छ। “पहिले दुई किलोसम्म हुर्किने माछा अहिले डेढ किलो पुग्न पनि गाह्रो छ,” उहाँले भन्नुभयो, “प्राकृतिक खाना घटेकाले माछाको वृद्धि क्षमता घट्दै गएको हो।”

कुलेखानी–कलङ्कीका युवा संसार बलामीका अनुसार, इन्द्रसरोवर मत्स्य व्यवसायी सङ्घले माछा हाल्ने, हेरचाह गर्ने र बिक्री वितरणको सम्पूर्ण प्रक्रिया सञ्चालन गर्छ। “तालले सयौँ घरलाई रोजगारी दिएको छ, तर माछा साना हुन थालेपछि आम्दानी घटेको छ,” उहाँले बताए। “यसले गाउँको अर्थतन्त्र र पर्यटनमा पनि असर पारेको छ।”

सरकारी दृष्टिकोण

मत्स्य विकास केन्द्र कुलेखानीकी निमित्त प्रमुख मनिता पौडेलले विषादीका कारण माछाको तौल घट्नु गम्भीर विषय भएको बताउँदै यसको वैज्ञानिक अध्ययन सुरु गरिएको जानकारी दिनुभयो। “हालै गरिएको परीक्षणमा पानीमा रासायनिक अंशको मात्रा सामान्यभन्दा माथि पाइएको छ,” उहाँले भनिन्, “त्यसैले यसले माछाको वृद्धि दरमा असर पारेको हुनसक्छ।”

पौडेलका अनुसार केन्द्रले हाल सिल्भर कार्प, बिगहेड, कमन कार्प, ग्रास कार्प, रहु, नैनी, भाकुर, टिलापिया, सहर र कत्ले जातका माछा उत्पादन गरी बिक्री गर्दै आएको छ। हरेक वर्ष भदौ महिनाको तेस्रो साता करिब दुई लाख भुरा माछा तालमा छाड्ने गरिएको छ। “कुलेखानीको माछा प्रायः स्थानीयस्तरमै खपत हुन्छ, त्यसैले तालको पानी सफा र विषादीमुक्त रहनु अत्यावश्यक छ,” उहाँले बताउनुभयो। केन्द्रले विद्यालय र समुदायमा जलाशय संरक्षण तथा स्वस्थ मत्स्यपालन सम्बन्धी तालिम पनि सञ्चालन गर्दै आएको छ।

विषादी र वातावरणीय असर

मकवानपुरको थाहा नगरपालिका र इन्द्रसरोवर गाउँपालिकामा व्यावसायिक तरकारीखेती तीव्र रूपमा विस्तार भइरहेको छ। उत्पादन बढाउने उद्देश्यले किसानहरूले कार्बोफुरान, मालाथियान, डाइक्लोरोभोसजस्ता विषादी प्रयोग गर्ने गर्छन्, जसले पानी र माटोमा दीर्घकालीन असर पुर्‍याउँछ।

प्राकृतिक जलाशय मत्स्य प्रवर्द्धन तथा संरक्षण केन्द्र हेटौँडाका प्रमुख सरोज यादवका अनुसार, विषादीले माछाको प्राकृतिक खाना र शरीरमा क्षति पुर्‍याउँछ, जसले उत्पादन घटाउँछ। “विषादीले पानीको रासायनिक संरचना परिवर्तन गर्छ, माछाको अण्डा फुट्ने दर घट्छ, आन्द्रा र गिल्समा क्षति पुग्छ,” उहाँले स्पष्ट पार्नुभयो। “यदि विषादीयुक्त पानी तालमा आइरहेको छ भने तुरुन्त नियन्त्रणका उपाय अपनाउनुपर्छ, अन्यथा कुलेखानी तालको जैविक विविधता र स्थानीय खानेपानी तथा पर्यटन अर्थतन्त्र सबै प्रभावित हुन सक्छ।”

सम्भावित समाधान र सचेतना

यादवका अनुसार मत्स्य विकास केन्द्र र व्यवसायी सङ्घले ताल वरपरका किसानलाई जैविक मल र वातावरणमैत्री खेती प्रणाली अपनाउन प्रोत्साहन गर्नुपर्ने छ। साथै, तालमा मिसिने पानी शुद्धीकरण गर्न सानो पोखरी (फिल्टर ताल) निर्माण गर्न सकेमा दीर्घकालीन समाधान मिल्ने उहाँले सुझाव दिनुभयो। कुलेखानी तालको माछा उत्पादन घट्नु केवल आर्थिक समस्या होइन, यो वातावरणीय सन्तुलन र जनस्वास्थ्य दुवैसँग सम्बन्धित चेतावनी हो।

Facebook Comments Box