पाँचथरमा बाबुले भरुवा बन्दुक हान्दा छोराको मृत्यु
फिदिम, कात्तिक १० गते – पाँचथरमा घरायसी विवादका क्रममा बाबुले आफ्नै छोरालाई गोली हानी हत्या गरेका छन्। मिक्लाजुङ गाउँपालिका–८, भदौरका ५२ वर्षीय बखतसिंह लिम्बूले आइतबार अपराह्न आफ्ना १७ वर्षीय छोरा सफल लिम्बूलाई भरुवा बन्दुकबाट गोली प्रहार गरेका हुन्।
जिल्ला प्रहरी कार्यालय पाँचथरका सूचना अधिकारी रुपेश तामाङका अनुसार, मादक पदार्थ सेवन गरेका बखतसिंहले घर नजिकै बारीमा रहेका छोरामाथि गोली चलाएका थिए। गोली छाती, कुम र कञ्चटलगायत शरीरका विभिन्न भागमा लागेको कारण सफल लिम्बूको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेर बखतसिंहलाई पक्राउ गरेको र प्रयोग भएको भरुवा बन्दुक नियन्त्रणमा लिइएको प्रहरी प्रवक्ता तामाङले जानकारी दिनुभयो। सफलको शव पोष्टमार्टमका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान पठाइएको छ। घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

