भोजपुरमा खोङटाङ–खावा भञ्याङ सडक स्तरोन्नति
भोजपुर, १ कात्तिक – टेम्केमैयुङ गाउँपालिकाको खोङटाङ–हुँगे–चोलन्ती हुँदै खावा भञ्याङ जोड्ने ग्रामीण सडक हालै स्तरोन्नति गरिएको छ। पहिले सवारीसाधन गुडाउन मुस्किल हुने यो सडक अहिले ग्राभेलसहित नाली र पर्खाल निर्माण भएपछि स्थानीयवासीको आवागमन सहज बनेको हो। वर्षायाममा हिलो र हिउँदमा धुलो हुने यो सडक सुधारसँगै गाउँलेको दैनिकी, आर्थिक गतिविधि र सेवासुविधामा पहुँच सहज भएको गाउँपालिकाले जनाएको छ।
सडक सुधारले किसानका उत्पादन बजारसम्म पुर्याउन, विद्यार्थीहरूलाई विद्यालय जान र बिरामीहरूलाई स्वास्थ्य संस्थासम्म पुग्न सुविधा पुगेको छ। करिब नौ किलोमिटर लामो सडक तीन करोड ५० लाख रुपैयाँ लागतमा सङ्घीय सरकारको बजेटमा, गाउँपालिकाको पहलमा स्तरोन्नति गरिएको गाउँपालिका अध्यक्ष सरोज बस्नेतले जानकारी दिनुभयो।
यो सडक पश्चिमी टेम्केमैयुङ क्षेत्रका बासिन्दालाई भोजपुर सदरमुकामसम्म जोड्ने प्रमुख मार्ग हो। सडक स्तरोन्नतिपछि स्थानीयको दैनिकीमा ठूूलो परिवर्तन आएको स्थानीय रमेश विष्टले बताए। “पहिले बिरामी, असक्त र ज्येष्ठ नागरिकलाई हिँड्नसमेत गाह्रो पर्थ्यो,” उहाँले भने, “अहिले गाडी सजिलै गुड्ने भएकाले ठूलो राहत भएको छ।”

