चालु आवको तीन महिना सकिँदा पनि ४३ स्थानीय तहले ल्याएनन् बजेट

काठमाडौँ, ३१ असोज – चालु आर्थिक वर्ष २०८२/८३ को तीन महिना बितिसक्दा पनि देशभरका ४३ वटा स्थानीय तहले अझै बजेट प्रस्तुत गरेका छैनन्। नेपालको संविधान अनुसार प्रत्येक वर्ष असार १० गतेभित्र सबै स्थानीय तहले आगामी वर्षको वार्षिक बजेट सार्वजनिक गर्नुपर्ने व्यवस्था छ।

संविधानले संघीय सरकारलाई जेठ १५ गते (गणतन्त्र दिवसकै दिन) बजेट प्रस्तुत गर्ने व्यवस्था गरेको छ भने प्रदेश सरकारहरूले असार १ गते बजेट सार्वजनिक गर्ने गर्छन्। तर, स्थानीय तहहरू तोकिएको म्यादभन्दा धेरै ढिला हुँदा उत्तरदायित्व नपुरा गरेको भन्दै आलोचना भइरहेको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार देशभरका ७५३ स्थानीय तहमध्ये ९४ दशमलव २९ प्रतिशतले बजेट प्रस्तुत गरिसकेका छन्। बाँकी पाँच दशमलव ७१ प्रतिशत अर्थात् ४३ स्थानीय तहले अहिलेसम्म बजेट पेस गर्न सकेका छैनन्। मन्त्रालयका अनुसार ढिलाइ हुने मुख्य कारण राजनीतिक सहमति नहुँनु नै हो।

🔹 कोशी प्रदेश

कोशी प्रदेशका १३७ स्थानीय तहमध्ये १३५ ले बजेट प्रस्तुत गरेका छन्। इटहरी उपमहानगरपालिका र धरान उपमहानगरपालिकाले अझै बजेट ल्याएका छैनन्।

🔹 मधेस प्रदेश

मधेस प्रदेशका १३६ स्थानीय तहमध्ये १०२ ले मात्र बजेट पेस गरेका छन्। बाँकी ३४ स्थानीय तह अझै चुपचाप छन्।

  • सप्तरी: डाक्नेश्वरी, राजविराज, अग्निसाइर कृष्णासवरन, छिन्नमस्ता, बलान बिहुल गाउँपालिका।

  • सिराहा: कल्याणपुर, धनगढीमाई, सुखीपुर नगरपालिका।

  • धनुषा: जनकपुर उपमहानगरपालिका, क्षिरेश्वरनाथ, धनुषाधाम, नगराइन, मिथिला, औरही, कमला, जनकनन्दिनी, हंपसुर, धनौजी गाउँपालिका।

  • महोत्तरी: सोनमा गाउँपालिका, मलङ्गवा नगरपालिका।

  • सर्लाही: हरिवन नगरपालिका, चन्द्रनगर, रामनगर गाउँपालिका।

  • रौतहट: कटहरिया, देवाही गोनाही, फतुवा विजयपुर नगरपालिका, यमुनामाई गाउँपालिका।

  • बारा: महागढीमाई नगरपालिका, सुवर्ण र विश्रामपुर गाउँपालिका।

  • पर्सा: पोखरिया नगरपालिका, पकाहा मैनपुर, सखुवा प्रसौनी र कालिकामाई गाउँपालिका।

🔹 बागमती प्रदेश

धादिङको खनियाबास गाउँपालिका एकमात्र यस्तो स्थानीय तह हो, जसले अझै बजेट पेस गरेको छैन।

🔹 गण्डकी प्रदेश

गण्डकी प्रदेशका सबै स्थानीय तहले समयमै बजेट प्रस्तुत गरेका छन्।

🔹 लुम्बिनी प्रदेश

नवलपरासी पश्चिमको पाल्हीनन्दन गाउँपालिका, रूपन्देहीको कोटहीमाई गाउँपालिका, कपिलवस्तुको शुद्धोधन गाउँपालिका र दाङको तुलसीपुर उपमहानगरपालिका ले अहिलेसम्म बजेट सार्वजनिक गरेका छैनन्।

🔹 कर्णाली प्रदेश

सल्यानको छत्रेश्वरी गाउँपालिका ले बजेट ल्याएको छैन।

🔹 सुदूरपश्चिम प्रदेश

सुदूरपश्चिम प्रदेशका सबै स्थानीय तहले बजेट प्रस्तुत गरिसकेका छन्।

Facebook Comments Box