देशभर डेंगु संक्रमण तीव्र, पछिल्लो साता ४१३ नयाँ बिरामी थप

काठमाडौँ, २७ असोज — पछिल्लो साता देशभर डेंगु संक्रमण तीव्र बनेको छ। गत साताभरमा मात्र ४१३ जनामा डेंगु पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा (ईडीसीडी) ले जनाएको छ।

सन् २०२५ को सुरुदेखि हालसम्म देशभर ५ हजार ८७४ जनामा डेंगु संक्रमण देखिएको छ। हालसम्म ७५ जिल्लामा डेंगु फैलिँदा ४ जनाको ज्यान गइसकेको छ।

ईडीसीडीका अनुसार पछिल्लो साता गण्डकी प्रदेशमा सबैभन्दा धेरै संक्रमित भेटिएका छन् — गण्डकीमा १५१, बागमतीमा १०७, कर्णालीमा ६४, लुम्बिनीमा ३९, सुदूरपश्चिममा ३०, कोशीमा १६ र मधेशमा ६ जना संक्रमित थपिएका हुन्।

नेपालमा पहिलो पटक सन् २००४ मा चितवनमा आएका एक विदेशी नागरिकमा डेंगु देखिएको थियो। त्यसयता तराईका जिल्लाबाट सुरु भएको संक्रमण सन् २०१८ पछि पहाडी क्षेत्रमा समेत फैलियो र सन् २०१९ मा ठूलो प्रकोपकै रूपमा देखा पर्यो।

२०२० मा धरानबाट फैलिएको डेंगुमा १८ हजारभन्दा बढी संक्रमित भए भने १२ जनाको मृत्यु भयो। सन् २०२२ मा त डेंगु देशका ७७ वटै जिल्लामा फैलिँदा ५४ हजारभन्दा बढी संक्रमित र ८८ जनाको मृत्यु भएको थियो। गत वर्ष (२०२४) १५ जनाको मृत्यु र ४१ हजार ८६५ जना संक्रमित भएका थिए।

स्वास्थ्य विशेषज्ञका अनुसार १० हजार जनामध्ये करिब १ हजारमा डेंगुका लक्षण देखिन्छन्। तीमध्ये ५०० जनामा भाइरल फ्लु जस्ता लक्षण — ज्वरो, टाउको दुख्ने, आँखाका गेडी दुख्ने, मांसपेशी तथा जोर्नी दुख्ने, पिँडौला करकराउने, ढाड दुख्ने र कहिलेकाहीँ छालामा राता दाना देखिने — देखापर्छन्।

ज्वरो घटेपछि ७२ घण्टासम्म ‘क्रिटिकल फेज’ रहन्छ, जसमा जटिलता र मृत्युको जोखिम उच्च हुन्छ। दोस्रो पटक संक्रमण भएमा आन्द्रामा रक्तस्राव वा शरीरमा प्लाज्मा लिकेज भएर रक्तचाप घट्ने खतरा रहन्छ। विशेषगरी बच्चा, वृद्ध र दीर्घरोगी (जस्तै मधुमेह, उच्च रक्तचाप) बढी जोखिममा छन्।

जनस्वास्थ्यविद्हरूका अनुसार तापक्रममा वृद्धि, जनघनत्व, अव्यवस्थित शहरीकरण, जलवायु परिवर्तन, लामो बर्खा र लामखुट्टेहरू कम तापक्रममा पनि बाँच्न सक्ने क्षमताको विकासले डेंगु फैलन सहज बनाएको हो।

डेंगु फैलाउने एडिस एजिप्टाईएडिस एल्बोपिक्टस नामक लामखुट्टेहरू प्रायः घरभित्र पर्दा, टेबलमुनि वा छायायुक्त ठाउँमा बस्न रुचाउँछन्। यी लामखुट्टेहरूले प्रायः बिहानको घाम झुल्कने र बेलुकी घाम अस्ताउने समय टोक्ने गर्छन्।

बच्ने उपाय

डेंगु नियन्त्रणको सबैभन्दा प्रभावकारी उपाय लामखुट्टेको टोकाइबाट जोगिनु र त्यसको वृद्धि रोक्नु हो।
त्यसका लागि —

  • साँझ–बिहान बाहिर ननिस्कनु,

  • पूरा शरीर ढाक्ने कपडा लगाउने,

  • झ्याल–ढोकामा जाली हाल्ने,

  • झुलमा सुत्ने,

  • धूप वा कीटनाशक प्रयोग गर्ने, र

  • पानी जम्ने टायर, गमला, कन्टेनर खाली राख्ने — जस्ता सामुदायिक तथा व्यक्तिगत सतर्कता आवश्यक छन्। जनस्वास्थ्य विज्ञहरूका अनुसार लामखुट्टेको लार्भा नष्ट गर्ने अभियानले डेंगु नियन्त्रणमा सबैभन्दा प्रभावकारी भूमिका खेल्छ।

Facebook Comments Box