वर्षातपछि पुनः सुचारु मेलम्चीको पानी काठमाडौँमा

काठमाडौँ, २७ असोज – वर्षातका कारण रोकिएको मेलम्चीको खानेपानी आपूर्ति पुनः सुरु गरिएको छ। गत असार १० गते बाढी र पहिरोका कारण आयोजनामा क्षति पुग्ने जोखिम देखिएपछि पानी आपूर्ति बन्द गरिएको थियो। आवश्यक मर्मतपछि अहिले मेलम्चीको पानी पुनः काठमाडौँ ल्याइँदै छ।

मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक जगरनाथ दासका अनुसार क्षतिग्रस्त संरचना मर्मत भएपछि हाल सुन्दरीजलस्थित सङ्कलन तथा प्रशोधन केन्द्रमा दैनिक १७ करोड लिटरभन्दा बढी पानी आइरहेको छ।

उहाँले भन्नुभयो, “वर्षातको क्षति मर्मत गरी र पानीको बहाव घटेसँगै हामीले मेलम्चीको पानी काठमाडौँ ल्याउन सफल भएका छौँ।” काठमाडौँ उपत्यकामा दैनिक झण्डै ४३ करोड लिटर पानीको माग रहेकामा मेलम्ची बन्द रहँदा विभिन्न वैकल्पिक स्रोतबाट दैनिक १३–१४ करोड लिटर मात्र आपूर्ति भइरहेको थियो।

मेलम्चीको पानी सुन्दरीजल आइपुगेसँगै वितरण प्रक्रिया सुरु भएको काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) का कार्यकारी निर्देशक अशोककुमार पौडेलले बताउनुभयो।

उहाँका अनुसार, “अब प्रत्येक तीन दिनको फरकमा घरघरमा धाराबाट पानी आउने व्यवस्था गरिएको छ। यसअघि ६ दिनमा एकपटक मात्र आपूर्ति भइरहेको थियो।”

विसं २०७८ असार १ गतेको भीषण बाढीपहिरोले मेलम्ची आयोजनाको हेडवर्क्स पूर्णरूपले क्षतिग्रस्त बनाएको थियो। त्यसयता हिउँदे मौसममा मात्र मेलम्चीको पानी वितरण हुँदै आएको छ।

मेलम्चीको मुहान बन्द भएपछि रिबर्मा खोलाबाट दैनिक ६–७ करोड लिटर पानी स्थानान्तरण गरेर काठमाडौँमा आपूर्ति गरिएको दासले बताउनुभयो।

२०७८ चैत १५ गते मेलम्चीले पहिलो पटक पूर्ण क्षमतामा दैनिक १७ करोड लिटर पानी उपत्यकामा पठाएको थियो। तर सोही वर्षको असार र साउनमा पुनः बाढीआएपछि आयोजनामा ठूलो क्षति पुगेर नियमित आपूर्ति अवरुद्ध भएको थियो।

Facebook Comments Box