‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’मा नेपाली सेनालाई स्वर्ण पदक

बेलायत, २७ असोज – बेलायतको वेल्सस्थित ब्रेकनमा सम्पन्न ‘एक्सरसाइज क्याम्ब्रियन पट्रोल’ नामक अन्तर्राष्ट्रिय गस्ती अभ्यासमा नेपाली सेनाले उत्कृष्ट प्रदर्शन गर्दै स्वर्ण पदक प्राप्त गरेको छ।

लन्डनस्थित नेपाली दूतावासका सैनिक सहचारी सहायक रथी अनुप शाहका अनुसार, असोज १७ देखि २६ गतेसम्म चलेको उक्त अभ्यासमा नेपाली सेनाको टोलीले उच्च अंक हासिल गर्दै स्वर्ण पदक जित्न सफल भएको हो। यो वर्षको प्रतियोगितात्मक अभ्यासमा ३३ देशका ११७ टोली सहभागी भएका थिए।

१० दिनसम्म चलेको अभ्यासलाई आठ चरणमा विभाजन गरिएको थियो। सहभागी टोलीहरूले ४८ घण्टाभित्र हतियार, करिब ७० पाउण्ड (३२–३५ केजी) बराबरको उपकरण र बन्दोबस्ती सामग्रीसहित ६० किलोमिटरभन्दा बढी दूरी तय गर्नुपर्ने थियो। अभ्यासमा टोलीहरूको खबर सङ्कलन, घाइतेको व्यवस्थापन, रणनीतिक योजना र सामरिक दक्षताको परीक्षण गरिन्छ।

नेपाली सेनाको टोलीले यही असोज २३ देखि २५ गतेसम्म आफ्नो प्रदर्शन गरेको थियो। सन् १९६० बाट सुरु भएको यो अभ्यासमा नेपाली सेनाले सन् २०१४ देखि नियमित सहभागिता जनाउँदै आएको छ। यसअघि पनि सेनाले सन् २०१७, २०१९ र २०२४ मा स्वर्ण पदक जितिसकेको थियो।

सन् २०२० र २०२१ मा कोभिड–१९ महामारीका कारण नेपाल यो अभ्यासमा सहभागी हुन सकेको थिएन। बेलायती सेनाका अनुसार, वेल्सको ब्रेकन क्षेत्र मौसम र भौगोलिक दृष्टिले चुनौतीपूर्ण मानिन्छ र यो अभ्यास सेनाको शारीरिक, मानसिक र रणनीतिक क्षमताको कठिनतम परीक्षणका रूपमा डिजाइन गरिएको छ।

Facebook Comments Box