क्यासिनोलगायतका संस्थाले इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्न पाउने
काठमाडौँ, २६ असोज – नेपाल राष्ट्र बैंकले क्यासिनोलगायतका संस्थाले अब इजाजत लिएरमात्र विदेशी मुद्राको कारोबार गर्न पाउने व्यवस्था लागू गरेको छ। केन्द्रीय बैंकले शुक्रबार सार्वजनिक गरेको सूचनामा विदेशी विनिमय (नियमित गर्ने) ऐन, २०१९ को दफा ३ अनुसार इजाजतप्राप्त संस्था वा व्यक्तिमात्र विदेशी मुद्राको कारोबार गर्न सक्ने प्रावधानलाई कार्यान्वयन गर्ने उद्देश्यले नयाँ व्यवस्था गरिएको उल्लेख छ।
राष्ट्र बैंकले विदेशी विनिमयसम्बन्धी विभिन्न विनियमावली जारी भइसकेको स्मरण गराउँदै, अब क्यासिनोलगायतका संस्थाले विदेशी विनिमय (भारतीय रुपैयाँसहित) कारोबार गर्न वा गराउन अनिवार्य रूपमा बैंकबाट अनुमति लिनुपर्ने स्पष्ट पारेको छ।
यससँगै, केन्द्रीय बैंकले भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन जारी गर्दै कार्डबाट हुने कारोबारको सीमा पनि पुनः निर्धारण गरेको छ। नयाँ व्यवस्थाअनुसार डेबिट कार्डबाट प्रतिकारोबार अधिकतम २० हजार रुपैयाँ बराबर, र प्रतिदिन ५० हजार रुपैयाँ बराबर मात्र खर्च गर्न सकिनेछ। यसअघि यो सीमा प्रतिदिन १ लाख रुपैयाँ बराबर थियो।
त्यस्तै, प्रिपेड कार्डबाट प्रतिकारोबार १० हजार रुपैयाँ बराबर, प्रतिदिन २० हजार रुपैयाँ बराबर र मासिक २ लाख रुपैयाँ बराबर कारोबार गर्न सकिने व्यवस्था यथावत राखिएको छ। क्रेडिट कार्डका हकमा भने पुरानै व्यवस्था कायम रहनेछ — जसअनुसार स्वीकृत सीमाको १० प्रतिशतसम्मको कारोबार गर्न सकिनेछ।

