सकसपूर्ण दसैँयात्रा
काठमाडौँ, २४ असोज – हरेक वर्षझैँ यस वर्ष पनि दसैँ यात्राले नागरिकलाई निकै सकस व्यहोर्नुपरेको छ । चाहे हवाई मार्ग होस् वा सडकमार्ग, दुवै माध्यमबाट गन्तव्य पुग्ने यात्रा कष्टकर बन्यो । दसैँका समयमा राजधानी काठमाडौँबाट बाहिरिने र पर्वपछि फर्किने यात्रुको भीड अत्यधिक हुने भएकाले बर्सेनि जस्तै यस वर्ष पनि यात्रामा समस्या देखियो । यसपटकको प्राकृतिक विपत्तिले भने यो सकस झन् बढायो ।
दसैँको विजयादशमीको भोलिपल्ट अर्थात् असोज १७ देखि २० गतेसम्म लगातार परेको भारी वर्षाले देशभरको जनजीवन अस्तव्यस्त बनायो । अविरल वर्षाले पहिरो, बाढी र सडक अवरोधका घटना बढे । राजधानी प्रवेश गर्ने मुख्य नाकाहरू बन्द भए भने हवाई उडानसमेत एकदिनका लागि पूर्णरूपमा रोकियो । असोज १८ गते खराब मौसम र प्रतिकूल ‘इनरुट’का कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने सबै आन्तरिक उडान रद्द हुँदा यात्रुले ठूलो सास्ती व्यहोरे ।
वायुसेवा सञ्चालक सङ्घका अध्यक्ष मनोज कार्कीका अनुसार हरेक दसैँमा हवाई चाप अत्यधिक हुने गर्छ, तर यसपटक वर्षा र प्राकृतिक विपत्तिका कारण उडान र यात्राको दुवै व्यवस्थापन कठिन भयो । उहाँका शब्दमा, “दसैँमा सामान्य अवस्थामा पनि हवाई चाप रहन्छ । यो वर्ष प्राकृतिक विपत्तिले त्यो चाप दोब्बर बनायो । सडक अबरुद्ध हुँदा यात्रु हवाई मार्गमा केन्द्रित भए, जसले एयरलाइन्सलाई पनि चुनौती दियो ।”
हवाई उडानको अत्यधिक चाप
दसैँका लागि वायुसेवा कम्पनीहरूले एक महिनाअगावै सबै टिकट बुकिङ गर्नुपर्ने स्थिति हुन्छ । तर, यस वर्ष बाढीपहिरोका कारण सडक अवरुद्ध हुँदा हवाई टिकटको माग आकस्मिक रूपमा बढ्यो । धेरै यात्रुले महँगो भाडा तिरे पनि टिकट पाउन सकेनन् । कतिपयले दुई÷तीन दिनसम्म टिकटका लागि लाइन बस्नुपर्यो ।
एयरलाइन्स कम्पनीहरूलाई पनि यात्रुको चापसँगै उडान व्यवस्थापनमा समस्या आयो । धेरै गन्तव्यमा थप उडान गरिए पनि प्रतिकूल मौसमले उडान ढिलाइ र रद्द हुन थाले । कतिपय कम्पनीले राति २ बजेसम्म पनि उडान गर्नुपर्ने बाध्यता भोगे ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका तथ्यांकअनुसार असोज १२ देखि २१ गतेसम्म १ लाख ३४ हजार ५१५ यात्रुले आन्तरिक हवाई यात्रा गरेका छन् । सो अवधिमा १,२८५ उडान र १,२६३ अवतरण गरी कुल २,५४८ उडान भएका थिए । असोज २० गते मात्रै १९ हजार २५५ यात्रुले हवाईयात्रा गरेका थिए, जसमा १६४ उडान र १६० अवतरण भएका थिए ।
एयरलाइन्सहरूमा दबाब
बुद्ध एयरका बजार निर्देशक रूपेश जोशीका अनुसार “दसैँको एक दिन सबै उडान रद्द भएपछि त्यसको असर तीन÷चार दिनसम्म रह्यो ।” बुद्ध एयरले असोज २० र २१ गते करिब ११ हजार यात्रुलाई सेवा दिएको थियो । यती एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले भने “क्षमताभन्दा बढी उडान गर्नुपर्ने, यात्रुको टिकट प्रेसर थेग्न नसक्ने अवस्था” आएको बताए ।
श्री एयरलाइन्सका संस्थागत प्रबन्धक अनिल मानन्धरले पनि उडान ढिलाइ र टिकट व्यवस्थापनमा चुनौती परेको बताए । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार हाल काठमाडौँ–धनगढी उडान भाडा रु १७ हजार ५७९ र काठमाडौँ–सिमरा उडान रु ३,९७८ निर्धारण गरिएको छ ।
वर्षाको कारण बिपी राजमार्गलगायतका मुख्य राजमार्गहरू अवरुद्ध हुँदा यात्रुले लामो बाटो भएर यात्रा गर्नुपर्यो । कतिपय यात्राको समय ८–१० घण्टा भन्दा दोब्बर लामो भयो । बस र जिपको भाडा पनि दोब्बर तिर्नुपर्यो । उदाहरणका रूपमा धरान–काठमाडौँ बोलेरो जिपको भाडा रु २,००० बाट बढेर रु ३,०००–४,००० पुगेको पाइयो ।
हरेक वर्ष दसैँमा गाउँ फर्केर आफन्तसँग रमाइलो गर्ने चाहना सबको हुन्छ । तर, सीमित उडान, अपर्याप्त पूर्वतयारी र प्राकृतिक विपत्तिका कारण यात्रुले सास्ती व्यहोर्न बाध्य छन् । हवाई र सडक दुबै यातायातलाई सुरक्षित, सुलभ र व्यवस्थित बनाउन सम्बन्धित निकायले समयमै योजना र पूर्वतयारी गर्न जरुरी छ ।

