एकल महिलाको लोभलाग्दो अग्र्यानिक तरकारीखेती

भोजपुर, २४ असोज  – टेम्केमैयुङ गाउँपालिका–४ नागीकी एकल महिला मायादेवी राई अहिले गाउँकै प्रेरणादायी किसान बनेकी छन्। शिक्षण पेसा छाडेर चार वर्षअघि कृषि क्षेत्रमा प्रवेश गरेकी राई अहिले व्यावसायिक अग्र्यानिक तरकारीखेती गर्दै आएकी छन्।

राईले दर्ता गरेको ‘इसुक्षा पशुपन्छी तथा मत्स्यपालन फार्म’ मार्फत बन्दाकोभी, काउली, ब्रोकोली, टमाटर, भेडेखुर्सानी, प्याजलगायतका तरकारी पूर्णतया अग्र्यानिक विधिबाट उत्पादन गर्दै आएकी छन्। गाईभैंसी, बाख्रा र बङ्गुरको गोबरबाट बनेको प्राङ्गरिक मल प्रयोग गर्दै उनले रासायनिक मलको प्रयोग नगरी उत्पादन बढाउँदै आएकी हुन्।

“व्यावसायिक रूपमा अग्र्यानिक तरकारी उत्पादन गर्दै आएकी छु,” राई भन्छिन्, “स्थानीय बजारमै बिक्री गरेर घरखर्च सजिलै चलिरहेको छ। अब खेतीलाई अझ विस्तार गर्ने तयारीमा छु।” शिक्षण पेसा छाडेर खेती रोज्नुको कारणबारे उनी भन्छिन्, “कृषि कर्ममा मेहेनत गरे राम्रो आम्दानी गर्न सकिन्छ, तर त्यसका लागि व्यावसायिक बन्नु जरुरी छ। राज्यले सहयोग र बजारको सुनिश्चितता गरिदिए अझ धेरै किसान लाभान्वित हुनेछन्।”

गाउँपालिका उपाध्यक्ष रमादेवी राई का अनुसार टेम्केमैयुङमा कृषि र पर्यटनका ठूला सम्भावना भएकाले ती क्षेत्रलाई प्राथमिकतामा राखेर नीति बनाइएको छ। “किसानलाई व्यावसायिक बनाएर आयआर्जनसँग जोड्न विभिन्न कार्यक्रम सञ्चालनमा छन्,” उनले भनिन्।

त्यस्तै, वडा नं. ४ का अध्यक्ष हर्कराज राई ले किसानलाई मौरीपालन, जडीबुटी, सुन्तला र कागतीखेतीमा प्रोत्साहनका कार्यक्रम चलाइरहेको बताए। उनका अनुसार नागी क्षेत्र मौरीपालनका लागि पनि उपयुक्त छ र किसानको सहभागिता बढ्दै गएको छ।

गाउँपालिका अध्यक्ष सरोज बस्नेत ले माटोअनुसारको खेती प्रणालीलाई प्राथमिकता दिँदै किसानलाई नगदेबालीमा आकर्षित गर्न कार्ययोजना अघि बढाइएको बताए। “टेम्केमैयुङमा धेरै उर्वरभूमि छ, त्यसलाई उपयोग गर्दै व्यावसायिक कृषि विस्तारका कार्यक्रम सञ्चालन गरिरहेका छौँ,” उनले भने।

Facebook Comments Box