अलपत्र भएको करिब एक वर्षपछि बन्यो गौरीघाट पुल
काठमाडौँ, २२ असोज – करिब एक वर्षदेखि अलपत्र परेको पशुपति क्षेत्रस्थित गौरीघाट–गुह्येश्वरी मन्दिर जोड्ने पुल पुनः निर्माण गरिएको छ । आधुनिक निर्माण सामग्री प्रयोग गर्न खोजिएपछि पुरातत्व विभागले रोक लगाएपछि काम स्थगित भएको थियो । उक्त विषयमा राष्ट्रिय समाचार समिति (रासस)ले समाचार प्रकाशित गरेपछि पुल पुनःनिर्माण कार्य सम्पन्न भएको हो ।
गत साउन दोस्रो साता राससले पुल नबन्दा भक्तजन र पर्यटकलाई परेको असुविधासम्बन्धी समाचार तस्बिरसहित प्रकाशित गरेको थियो । त्यसपछि काठमाडौँ महानगरपालिका पुरानै स्वरुपमा पुल बनाउन सहमत भएको हो । काठमाडौं महानगरपालिकाले ठेक्का गरी पुल पुनःनिर्माणका लागि भत्काएपछि सात महिनासम्म काम अघि नबढ्दा आवतजावतमा समस्या भएको थियो ।
विश्व सम्पदा क्षेत्रमा निर्माण गर्दा मापदण्डअनुसार कार्य नगरेको भन्दै पुरातत्व विभागले पुल निर्माण रोकिदिएको थियो । विभागका प्रवक्ता रामबहादुर कुँवरका अनुसार निर्माण व्यवसायीले आधुनिक सामग्री प्रयोग गर्न खोजेकाले रोक लगाइए पनि, पछि प्राचीन निर्माण सामग्रीकै प्रयोग गरेर काम गर्न सहमत भएपछि पुनःनिर्माण अनुमति दिइएको हो ।
काठमाडौँ महानगरपालिका–८ का अध्यक्ष एवं सम्पदा तथा पर्यटन समितिका संयोजक आशामान सँगतका अनुसार विभागले तोकेको निर्देशनअनुसारकै निर्माण सामग्री प्रयोग गरी पुल निर्माण गरिएको छ । पुल नबन्दा पशुपति आउने भक्तजन, पैदल यात्रु र पर्यटक सबैलाई असुविधा भएको थियो । करिब एक वर्षदेखि सवारीसाधन नचल्दा भक्तजनलाई गुह्येश्वरी पुग्न लामो बाटो हिँड्नुपरेको थियो ।
धार्मिक अभियन्ता धर्मराज बरालका अनुसार पुल अलपत्र हुँदा पशुपति क्षेत्र घुम्न आउने पर्यटकलाई पनि समस्या भएको हो । यसैबीच, स्थानीय बासिन्दाले पुरानो पुल भत्काउँदा निकालिएका ऐतिहासिक इँटाको संरक्षण नहुँदा ती चोरी भएको आशंका व्यक्त गरेका छन् ।
गौरी आध्यात्मिक मासिकका सम्पादक अर्जुन लामिछानेका अनुसार पुल भत्काउँदा ‘श्री ५ त्रिभुवन’ र ‘श्री ३ चन्द्रशम्शेर’ लेखिएका इँटा भेटिए पनि अहिले हराएका छन् । उहाँले ती इँटा कहाँ गए भन्नेबारे सरोकार निकायले स्पष्ट जवाफ दिनुपर्ने माग गर्नुभएको छ ।

