बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा
काठमाडौँ, १८ असोज – बितेका १२ घण्टामा देशभर विभिन्न स्थानमा वर्षा भएकोमा पर्साको वीरगञ्जमा सबैभन्दा बढी वर्षा मापन भएको छ।जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको हो। त्यस्तै बारामा १४०.४ मिलिमिटर, रौतहटको गौरमा १२९ मिलिमिटर र महेशपुरमा १२४ मिलिमिटर वर्षा मापन गरिएको छ।
महाशाखाले पर्सा र बारामा अति भारी वर्षा भएको उल्लेख गर्दै मध्य क्षेत्रका जिल्लामा वर्षाको प्रभाव बढी रहेको जनाएको छ। नवलपरासीदेखि पूर्व धनकुटासम्म व्यापक वर्षा भएको र तराई केन्द्रित रुपमा वर्षा मापन गरिएको विभागले जनाएको छ।
यस अवधिमा सिन्धुपाल्चोकदेखि दोलखासम्मका पहाडी जिल्ला र काठमाडौँ उपत्यकालगायत १४ जिल्लामा ५० मिलिमिटरभन्दा बढी वर्षा भएको छ। त्यस्तै ५० भन्दा बढी मापन केन्द्रमा ३० देखि ५० मिलिमिटर वर्षा रेकर्ड भएको छ।
हाल बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावा प्रवेश गरेका कारण वर्षा भइरहेको र अर्को प्रणाली सक्रिय हुने सम्भावना रहेकाले आज राति पनि धेरै स्थानमा वर्षा हुने सम्भावना विभागले जनाएको छ।

