कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अर्थ मन्त्रालयको अनुरोध
काठमाडौँ, १८ असोज — अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र सहयोग रकम जम्मा गर्न सर्वसाधारणलाई आग्रह गरेको छ।
मन्त्रालयले आज विज्ञप्ति जारी गर्दै स्वदेश तथा विदेशमा सङ्कलित रकम दुरुपयोग हुन नदिन तथा पारदर्शी र जवाफदेही ढङ्गले परिचालन गर्न राष्ट्रिय वाणिज्य बैंकमा रहेको खाता नं. १९६०१००१०२०७०००४ मा मात्र जम्मा गर्न आग्रह गरेको हो।
भाद्र २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा सहिद परिवारलाई राहत र घाइतेको उपचारका लागि सहयोग रकम सङ्कलन भइरहेका बेला विभिन्न गैरसरकारी संघ–संस्थामा रकम जम्मा भइरहेको गुनासो आएका कारण मन्त्रालयले आधिकारिक सूचना सार्वजनिक गरेको हो।
अर्थ मन्त्रालयका अनुसार सो कोषमार्फत जम्मा भएको रकम सुशासन, सेवा प्रवाहमा सुधार र भ्रष्टाचारमुक्त नेपाल निर्माण गर्ने उद्देश्यअनुरूप पारदर्शी ढङ्गले मात्र प्रयोग गरिनेछ।

