बागलुङमा पिकअप दुर्घटना, एक जनाको मृत्यु, दुई घाइते
बागलुङ, १७ असोज – बागलुङ जिल्लाको ताराखोला गाउँपालिका–१ गाईघाट नजिक पिकअप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन्।
शुक्रबार साँझ गलकोट हटिया बजारबाट ताराखोला जाँदै गरेको ग १ ज ६१०० नम्बरको पिकअप सडकबाट करिब २० मिटर तल खस्दा गलकोट नगरपालिका–५ सर्दाखेतका २४ वर्षीय दिनेश थापाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी निरीक्षक केशव थापाले जानकारी दिनुभयो।
उक्त दुर्घटनामा सोही वडाका २४ वर्षीय मिलन परियार र ४३ वर्षीय वीरबल परियार घाइते भएका छन्। घाइतेमध्ये वीरबल परियारलाई गलकोट नगर अस्पतालमा प्रारम्भिक उपचारपछि गम्भीर चोटपटकका कारण पोखरा रिफर गरिएको छ।
अर्का घाइते मिलन परियार भने गलकोट अस्पतालमै उपचाररत छन्। दुर्घटनापछि प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सम्पन्न गरेको प्रहरीले जनाएको छ।

