शनिबारदेखि चार प्रदेशका नदीमा बहाव बढ्ने
काठमाडौँ, १७ असोज – जल तथा मौसम विज्ञान विभागले शनिबार दिउँसोदेखि मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका विभिन्न जिल्लामा वर्षा सुरु भई नदीहरूको बहाव बढ्न सक्ने पूर्वानुमान गरेको छ।
विभागका बाढीविद् विनोद पराजुलीका अनुसार आज (शुक्रबार)सम्म देशका सबै प्रमुख नदीमा जलसतह सामान्य र स्थिर रहेको भए पनि शनिबार दिउँसोपछि क्रमशः पानीको बहाव बढ्दै जानेछ।
उहाँले भन्नुभयो, “शनिबार राति नवलपरासी पूर्व–पश्चिम, तनहुँ, लम्जुङ, गोरखा, धादिङ, चितवन, मकवानपुर, बारा, पर्सा, रौतहट, सर्लाही, काठमाडौँ उपत्यका, काभ्रे, सिन्धुली र आसपासका जिल्लामा रहेका स–साना नदीनालामा आकस्मिक बाढीको जोखिम रहन्छ।”
आइतबार बिहानदेखि बेलुकासम्म नारायणी, कालीगण्डकी, सेती, मादी, मस्र्याङ्दी, दरौँदी, त्रिशूली, पूर्वी राप्ती, बागमती, कमला लगायतका नदी र तिनका सहायक नदीहरूमा बहाव उल्लेख्य बढ्न पुग्ने र कतिपय स्थानमा सतर्कता तहसम्म पुग्ने सम्भावना रहेको विभागले जनाएको छ।
यस्तै, आइतबार रातिदेखि प्रणाली क्रमशः पूर्वतर्फ सर्दै जाने हुँदा कोशी, कन्काईलगायत नदी जलाधार क्षेत्रमा समेत बहाव उच्च हुने अनुमान गरिएको छ। विभागले बाढी, डुबान र पहिरोको जोखिम हुने स्थानमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

