बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म राति सवारीसाधन चलाउन रोक

काभ्रेपलाञ्चोक, १६ असोज – बीपी राजमार्गमा आजदेखि २१ गतेसम्म राति सवारीसाधन चलाउन रोक लगाइएको छ । लगातार सक्रिय हुँदै गएको मनसुन र सम्भावित जोखिमलाई मध्यनजर गर्दै काभ्रे भञ्ज्याङ–भकुण्डेबेसी–सिन्धुली सडकखण्डमा साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी यात्रुवाहक गाडी सञ्चालनमा रोक लगाउने निर्णय गरिएको हो ।

जिल्ला सुरक्षा समिति र जिल्ला विपद् व्यवस्थापन समितिको बैठकपछि जारी निर्णयअनुसार, एम्बुलेन्स र अन्य अत्यावश्यक सेवाका सवारीसाधन भने सञ्चालनमा रहनेछन् ।

प्रमुख जिल्ला अधिकारी उमेशकुमार ढकालका अनुसार रोशी खोलासहितका खहरे खोलामा बाढीको सम्भावना रहेकाले आवश्यक परे दिनको समयमा पनि स्थानीय प्रहरी र ट्राफिक प्रहरीले सवारी रोक्न सक्ने व्यवस्था मिलाइएको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले काभ्रेलगायतका क्षेत्रमा भारी वर्षाको उच्च सम्भावना रहेको भन्दै सतर्कता अपनाउन निर्देशन दिएको थियो ।

त्यसपछि जिल्ला प्रशासन कार्यालयले विज्ञप्ति जारी गर्दै असोज १६ देखि २१ गतेसम्म अत्यावश्यक नभए बाहिर नजान, विशेषगरी रातिको यात्रा नगर्न र पहिरो जोखिम भएका क्षेत्र तथा नदी किनारका बस्तीहरूमा सतर्कता अपनाउन आग्रह गरेको छ ।

गत वर्ष असोज ११ र १२ गतेको वर्षा, बाढी र पहिरोले बीपी राजमार्गलाई ठूलो क्षति पुर्याएको थियो । क्षतिग्रस्त स्थानमा अझै पुनर्निर्माण कार्य पूरा नभएकाले यस वर्ष पनि जोखिम कायमै रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

त्यसैगरी, बीपी र अरनिको राजमार्गसँग सम्बन्धित सडक डिभिजन भक्तपुर र सूर्यविनायक–धुलिखेल सडक आयोजनाले डोजर, एस्काभेटर, लोडर लगायतका उपकरण तुरुन्त प्रयोग गर्न सक्ने गरी तयारी अवस्थामा राख्ने, पूर्वतयारी तथा प्रतिकार्यमा सरोकारवाला सबै निकायलाई अलर्टमा रहने निर्णय गरेका छन् ।

Facebook Comments Box