दसैँ नजिकिँदै हिमाली च्याङ्ग्रा पहाड र तराईका मुख्य बजारमा
बागलुङ, १२ असोज – दसैँ नजिकिँदै जाँदा हिमाली क्षेत्रका किसान र व्यापारीले च्याङ्ग्रा बजार झार्ने क्रम तीव्र भएको छ। मुस्ताङ र डोल्पाका उच्च भेगमा उत्पादन भएका च्याङ्ग्रा व्यापारीहरूले म्याग्दी, बागलुङ, पर्वत, पोखरा हुँदै चितवन र बुटवलसम्म पुर्याइरहेका छन्।
अहिले सडक छेउछाउमै बाक्लै च्याङ्ग्राका बथान देखिन थालेका छन्, जसलाई ग्राहकले सडकमै पुगेर खरिद गर्ने गरेका छन्। हिमाली घाँसपात र जडीबुटी खाएर हुर्केका च्याङ्ग्रा स्वादिष्ट मात्र नभई औषधीय गुणसमेत हुने भएकाले ठूलो मागमा पर्ने गरेको व्यापारीहरूको भनाइ छ।
मुस्ताङका च्याङ्ग्रापालक किसान नामदेव गुरुङले तीन सय च्याङ्ग्रा लिएर बागलुङ आइपुग्दा ७० वटा बिक्री भइसकेको बताए। “भदौमै व्यापारीहरू गोठमै पुगेर खरिद गर्छन्, बजार पुर्याउँदा मूल्य अझै बढ्छ,” उनले भने।
डोल्पाका किसान थमसिंह बुढाले च्याङ्ग्रा व्यापार आफ्नो मुख्य आम्दानीको स्रोत भएको बताए। उनले सत्र दिनको पैदल यात्रापछि बागलुङ झरेका हुन्। “पाँच वर्ष उमेर पुगेका च्याङ्ग्रा मासुका लागि उत्कृष्ट मानिन्छ,” उनले भने, “तर हिउँचितुवा र ब्वाँसाबाट जोगाउन निकै कठिन छ।”
आठ वर्षदेखि निरन्तर दसैँको समयमा च्याङ्ग्रा बजार झार्दै आएका उनले सुरुमा प्रतिच्याङ्ग्रा रु १२ हजारमै बेच्ने गरेको र अहिले मूल्य रु ५० हजारसम्म पुगेको बताए। चितवन वा बुटवलसम्म पुर्याउँदा मूल्य अझै बढ्ने उनको भनाइ छ।
मुस्ताङ, डोल्पा, मुगु र जुम्लाबाट जोमसोम–कोरला सडकमार्ग हुँदै च्याङ्ग्रा देशका मुख्य सहरमा भित्रिन्छ। तिब्बतबाट पनि भेडाच्याङ्ग्रा नेपाल भित्रिने गरेको व्यापारी मोहन लामाले बताए। उनका अनुसार दसैँ खर्च जुटाउन यही मौसममा धेरै किसान र व्यापारी च्याङ्ग्रा बजार झार्छन्।
यस्तै, बागलुङका किसानहरूले पनि भेडा बजारमा झार्न थालेका छन्। तमानखोला, ढोरपाटन र निसीखोलाका माथिल्लो क्षेत्रका किसानहरूले लेकबाट झारेका भेडा बुर्तिबाङ, खर्बाङ, गुल्मी, पाल्पा हुँदै बुटवलसम्म पुर्याउने गरेका छन्।

