मुख्ययाममै म्याग्दीका पर्यटकीय स्थल सुनसान

म्याग्दी, १० असोज – असोज–कात्तिकको मुख्य पर्यटक याममा पनि म्याग्दीका प्रमुख पर्यटकीय स्थलहरू सुनसान देखिएका छन्। विगतका वर्षमा चाडपर्व र पदयात्रा तथा तीर्थयात्राको समयमा होटल तथा पर्यटन व्यवसायी व्यस्त हुने भए पनि यसपालि फुर्सदिला छन्।

होटल व्यवसायी राजन लामाका अनुसार ‘जेनजी पुस्ता’को आन्दोलन र राजधानी काठमाडौसँग जोड्ने नारायणघाट–मुग्लिन तथा मुग्लिन–काठमाडौँ सडकमा पहिरोले यातायात सेवा अवरुद्ध भएपछि पर्यटन व्यवसाय प्रभावित भएको हो। “पर्यटकको आगमन विगत २० वर्षयताकै न्यून छ, होटल र पर्यटकीयस्थलहरू सुनसान छन्,” लामाले बताउनुभयो।

बेनी, गलेश्वर, भुरुङ–तातोपानी र दानाका होटल विगतमा पर्यटक र तीर्थयात्रीले भरिन्थे। तर यसपालि कागबेनी र मुक्तिनाथमा आउने तीर्थयात्रीको सङ्ख्या न्यून छ। घोडेपानी–पुनहिल क्षेत्रमा आउने पर्यटकको संख्या पनि घटेको स्थानीय होटल व्यवसायी डमबहादुर पुनले जानकारी दिनुभयो।

घोडेपानीमा दैनिक एक हजार पर्यटक क्षमताको २५ सुविधा सम्पन्न होटल रहेका छन्। अन्नपूर्ण गाउँपालिकाको चित्रे–घोडेपानी सडक स्तरोन्नतिका क्रममा हुनु र सडक असहजताका कारण आन्तरिक पर्यटकको आगमन कम भएको छ।

सिङ्गा तातोपानी र भुरुङ–तातोपानी कुण्ड प्राकृतिक उपचारस्थल भए पनि पर्यटक नआउँदा होटल व्यवसायीहरू वैकल्पिक पेसाको खोजीमा बाध्य भएका छन्। भुरुङ–तातोपानी होटल व्यवसायी अमृतमान शेरचनका अनुसार, “दसैँअघि पर्यटकको आगमन निराशाजनक छ। यस्तै अवस्था रहे व्यवसाय चलाउन समस्या हुनेछ।”

Facebook Comments Box