जेनजीलाई लक्षित मतदाता नामावली संकलन सुरु

काठमाडौँ, ९ असोज – निर्वाचन आयोगले जेनजी आन्दोलनपछि घोषणा गरिएको आगामी २१ फागुनको प्रतिनिधिसभा निर्वाचनलाई लक्षित गर्दै मतदाता नामावली संकलन प्रक्रिया सुरु गरेको छ।

आयोगका अनुसार हाल १६ वर्ष पूरा गरेका र नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त सबै नागरिकले प्रदेश निर्वाचन कार्यालय र जिल्ला निर्वाचन कार्यालयमा गएर आफ्नो नाम दर्ता गर्न सक्नेछन्। नामावली दर्ता बिहान ८:०० बजेदेखि बेलुकी ६:०० बजेसम्म, सार्वजनिक बिदा बाहेक दैनिक सञ्चालन हुनेछ।

अन्तरिम सरकारले ताजा जनादेशका लागि २१ फागुनमा निर्वाचन गर्ने घोषणा गरेसँगै आयोगले मतदाता नामावली संकलनलाई प्राथमिकतामा राखेको हो। कानुन बमोजिम निर्वाचन मिति घोषणा भएलगत्तै नामावली संकलन प्रक्रिया स्थगित हुने प्रावधान छ।

जेनजी आन्दोलनमा सक्रिय भएर भूमिका निर्वाह गरेका धेरै युवाहरूको नाम मतदाता सूचीमा नभएको भन्दै उनीहरूलाई सहभागी बनाउने उद्देश्यले सरकारले बुधबार अध्यादेश जारी गरेर कानुनी अवरोध हटाएको हो।

आयोगले यस नामावली संकलन तथा अद्यावधिक कार्यक्रममा योग्यता पुगेका सबैलाई नाम दर्ता गर्न, विवाह वा बसाइँसराइका कारण स्थानान्तरण गर्न, र नाम वा विवरणमा त्रुटि भएमा सच्याउन सकिने व्यवस्था मिलाइएको जनाएको छ।

Facebook Comments Box