आश्विन शुक्ल चतुर्थी : कुष्माण्डा देवीको पूजाआराधना

काठमाडौं, ९ असोज – नवरात्रको चौथो दिन आज नौ दुर्गामध्येकी कुष्माण्डा देवीको विधिपूर्वक पूजाआराधना भइरहेको छ। शास्त्रअनुसार आश्विन शुक्ल चतुर्थीमा देवी कुष्माण्डाको आराधना गर्दा भक्तजनले आध्यात्मिक, आधिभौतिक र आधिदैविक तीनै तापबाट मुक्ति पाउने विश्वास गरिन्छ।

नवरात्रको पहिलो दिन शैलपुत्री, दोस्रो दिन ब्रह्मचारिणी र तेस्रो दिन चन्द्रघण्टाको पूजा सम्पन्न भइसकेको छ। आज कुष्माण्डा देवीको आराधना भइरहेको छ भने बाँकी दिनमा क्रमशः स्कन्दमाता, कात्यायनी, कालरात्रि, महागौरी र सिद्धिदात्रीको पूजाआराधना गरिनेछ। देशभरका शक्तिपीठहरूमा भक्तजनको भीड लागेको छ। काठमाडौं उपत्यकाका गुह्येश्वरी, मैतीदेवी, भद्रकालीलगायत मन्दिरमा बिहानैदेखि दर्शनार्थीको भीड देखिएको छ।

उपत्यकाबाहिर पनि मनकामना, गढीमाई, बागलुङ कालिका, विन्ध्यवासिनी, शैलेश्वरीलगायतका शक्तिपीठमा विशेष पूजा र दर्शन भइरहेको छ। नवरात्रभर दुर्गा सप्तशती, देवीभागवत र स्तोत्र पाठ गरिन्छ। विजयादशमीदेखि कोजाग्रत पूर्णिमासम्म प्रसाद लगाएर १५ दिनसम्म नेपालीले बडादसैं मनाउने परम्परा छ।

Facebook Comments Box