पाँच दशकपछि धारापानी क्षेत्रमा बिजुली

कञ्चनपुर, ९ असोज – शुक्लाफाँटा नगरपालिका–८ मा पर्ने धार्मिक एवं पर्यटकीय क्षेत्र मुडका (मणिका) हुँदै धारापानीसम्म विद्युतीकरणको काम तीव्र गतिमा अघि बढाइएको छ। नेपाल विद्युत् प्राधिकरण महेन्द्रनगर वितरण केन्द्रमार्फत करिब ६५ लाख रुपैयाँ लागतमा पाँच किलोमिटर क्षेत्रमा बिजुली पु¥याउने तयारी भइरहेको छ।

वितरण केन्द्र प्रमुख चुटुनकुमार श्रीवास्तवका अनुसार, आवश्यक पोल, तार र ट्रान्सफर्मर ढुवानी भइसकेको छ र अहिले पोल गाड्ने काम भइरहेको छ। कुल ८२ वटा पोल जडान गरी ९० दिनभित्र काम सक्ने योजना रहेको उनले बताए। तिहारअघि नै धारापानीमा बिजुली पु¥याउने लक्ष्य लिइएको छ।

विसं २०२८ सालदेखि बसोबास सुरु भएको धारापानीमा करिब ३५ परिवार छन्। तर अझैसम्म विद्युत् नपुगेका कारण स्थानीयले राति टुकीको भरमा गुजार्नुपर्थ्यो। मोबाइल चार्ज गर्न समेत तीन किलोमिटर टाढा जानुपर्ने बाध्यता अब अन्त्य हुने आशा जगाएको स्थानीयवासीले बताएका छन्।

यसै परियोजनाअन्तर्गत भीमदत्त नगरपालिकाको खल्लामुसेट्टि क्षेत्रमा करिब ५५ घरधुरीलाई अढाई किलोमिटर क्षेत्रमा पोल गाडेर र दुईवटा ट्रान्सफर्मर जडान गरी विद्युत् सेवा विस्तार गरिएको प्राधिकरणले जनाएको छ। श्रीवास्तवका अनुसार, पुल विद्युतीकरण कार्यक्रममार्फत दोधारा–चाँदनी, बेदकोट नगरपालिका र कैलालीको गोदावरी नगरपालिकामा पनि विद्युत् विस्तारको काम पूरा गरिएको छ।

Facebook Comments Box