काँकरभिट्टाबाट दुई महिनामै करिब तीन अर्बको पेट्रोलियम पदार्थ आयात
झापा, ८ असोज – चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो दुई महिनामा काँकरभिट्टा नाकाबाट करिब रु दुई अर्ब ८४ करोड ४८ लाख बराबरको पेट्रोलियम पदार्थ आयात भएको छ। मेची भन्सार कार्यालयका सूचना अधिकारी ईश्वरकुमार हुमागाईँका अनुसार सो अवधिमा पेट्रोल, डिजेल, एलपी ग्यास, एटिएफ र मट्टितेल आयात भएको हो।
गत वर्षको सोही अवधिको तुलनामा आयात रकम करिब रु १० करोड ६१ लाखले (३.६० प्रतिशत) घटेको भए पनि राजस्व भने रु ६४ लाख (०.५० प्रतिशत) बढेको छ। कार्यालयको तथ्याङ्कअनुसार साउन–भदौ महिनामा मात्रै पेट्रोलियम पदार्थ आयातबाट रु एक अर्ब ३९ करोड ८६ लाख राजस्व संकलन भएको छ।
वस्तु अनुसार आयात विवरण
-
पेट्रोल: रु १ अर्ब ४२ करोड ७२ लाख मूल्य बराबर, १६,३५२ किलोलिटर
-
डिजेल: रु ८४ करोड ४२ लाख मूल्य बराबर, ९,००४ किलोलिटर
-
एलपी ग्यास: रु ४० करोड ४९ लाख मूल्य बराबर, ४,२३३ मेट्रिक टन
-
एटिएफ (विमान इन्धन): रु १३ करोड २८ लाख मूल्य बराबर, १,४८८ किलोलिटर
-
मट्टितेल: रु २ करोड २२ लाख मूल्य बराबर, २४८ किलोलिटर

