जवाङ खोलामा पहिरो, मुग्लिन–काठमाडौं सडक अवरुद्ध

धादिङ, ७ असोज – पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनीघाट रोराङ–१० जवाङ खोलामा खसेको सुक्खा पहिरोका कारण मुग्लिन–काठमाडौं सडकखण्ड दुईतर्फी अवरुद्ध भएको छ। गएराति खसेको पहिरो हटाइए पनि पुनः ठूलो पहिरो झरेपछि यातायात पूर्णरूपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ। लगातार पहिरो खसिरहेकाले तत्काल सडक खुलाउने काम गर्न नसकिएको प्रहरीले जनाएको छ।

सडक अवरुद्ध हुँदा यात्रु र सवारी चालकहरू बाटोमै अलपत्र परेका छन्। प्रहरीले उनीहरूलाई सुरक्षित स्थानमा बस्न र लेन अनुशासन पालना गर्न आग्रह गरेको छ। यसअघि गत शुक्रबार मुग्लिन–नारायणगढ खण्डको तुइन खोलामा खसेको पहिरोले ४० घण्टा यातायात अवरुद्ध हुँदा यात्रुहरू मारमा परेका थिए। दशैं मनाउन घर फर्किनेहरूको यात्रा पुनः कष्टकर बनेको छ।

Facebook Comments Box