सूर्यविनायक–धुलिखेल सडक छिट्टै बनाउन व्यवसायीको आग्रह
भक्तपुर, ७ असोज । सूर्यविनायक–धुलिखेल सडकखण्ड लामो समयदेखि अधूरै रहँदा दुर्घटना र व्यापारमा समस्या बढेपछि व्यवसायीहरूले शीघ्र निर्माण सम्पन्न गर्न माग गरेका छन्। ऊर्जा, जलस्रोत तथा सिँचाइ र भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले सोमबार सडक अवलोकन गर्ने क्रममा व्यवसायीहरूले सडकको अव्यवस्थित अवस्था देखाउँदै गुनासो गरेका हुन्।
उद्योग वाणिज्य महासङ्घ भक्तपुरका महासचिव नवीन प्रजापतिले नौ महिनादेखि काम रोकिँदा दुर्घटना बढेको, व्यापार ठप्प भएको र आवतजावतमा कठिनाइ भएको जानकारी गराए। ठेक्का कम्पनीको लापरबाही र वर्षामा सडकका खाल्डा ढुङ्गाले भरिँदा दुर्घटनाको जोखिम बढेको भन्दै व्यवसायीहरूले मन्त्रीको ध्यानाकर्षण गराएका थिए।
मन्त्री घिसिङले तत्काल खाल्डा पुर्न र दसैँलगत्तै सडक निर्माणलाई तीव्रता दिन निर्देशन दिएका छन्। आयोजनाका इञ्जिनियर विवेक पाण्डेले हालसम्म ४५ प्रतिशत मात्र काम सम्पन्न भएको र वर्षाले अवरोध गरेको जानकारी दिए। व्यवसायीहरूले स्थानीय र नागरिकस्तरबाट आवश्यक सहयोग र समन्वय गर्न तयार रहेको बताउँदै समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालयमा छलफल गर्ने निर्णय लिएका छन्।

