एक–दुई स्थानमा भारी वर्षाको सम्भावना
काठमाडौँ, ३ असोज – जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास रहेकाले आज देशभर सामान्यतया बदली रहने अनुमान गरिएको छ।
कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी भू–भागका केही स्थान तथा अन्य क्षेत्रका थोरै ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ। त्यस्तै, ती प्रदेशका पहाडी र तराई भू–भागका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने विभागले जनाएको छ।
आज राति कोशी, मधेस, बागमती र गण्डकी प्रदेशसहित अन्य पहाडी भू–भागमा सामान्यतया बदली रहनेछ भने बाँकी तराई भू–भागमा आंशिक बदली हुने अनुमान गरिएको छ। साथै, कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका केही स्थानमा र अन्य क्षेत्रमा एक–दुई ठाउँमा मध्यम वर्षा हुने सम्भावना छ।
विभागले वर्षाका कारण पहिरो, गेग्रान बहाव (डेब्रिज फ्लो) र नदी–नालाको सतह बढ्न सक्ने भएकाले यातायातलगायत क्षेत्रमा असर पर्न सक्ने चेतावनी दिएको छ। साथै सर्वसाधारणलाई सतर्क रहन र आवश्यक पूर्वतयारी गर्न आग्रह गरेको छ।

