जेनजी प्रदर्शनमा चोरी भएका सामान फिर्ता गर्न आग्रह

दाङ, ३१ भदौ – दाङको तुलसीपुरस्थित विभिन्न सरकारी कार्यालयले जेनजी प्रदर्शनका क्रममा चोरी भएका सामग्री तत्काल फिर्ता गर्न सार्वजनिक रूपमा अनुरोध गरेका छन्। भदौ २३ र २४ गते भएको प्रदर्शनपछि कार्यालय तोडफोड, आगजनी र चोरी भएका थिए।

उच्च सरकारी वकिल कार्यालय तुलसीपुरका निमित्त प्रमुख उपन्यायाधिवक्ता नगेन्द्र लम्सालले जारी गरेको सूचनामा कम्प्युटर, ल्यापटप, प्रिन्टर, हार्डडिस्क, कुर्सी, टेबल, फ्रिजलगायत सामग्री चोरी भएको उल्लेख छ। सामाजिक सञ्जाल, सिसीटिभी फुटेज र प्रत्यक्षदर्शीका आधारमा संलग्न व्यक्तिहरूको पहिचान भइसकेको जनाइएको छ।

उच्च अदालत तुलसीपुर, इलाका प्रशासन कार्यालय, नगरविकास समिति र भू तथा जलाधार व्यवस्थापन कार्यालयले पनि चोरी भएका सामग्री फिर्ता गर्न सूचना जारी गरेका छन्। नगरविकास समितिको कार्यालय पूर्ण रूपमा जलेको र प्रमुख लीलाधर शिवाकोटीको निवासबाट सुनका गरगहना, ल्यापटप र नगद चोरी भएको जनाएको छ।

कार्यालयहरूले चोरीका सामान नजिकैको प्रहरी कार्यालयमा बुझाउन आग्रह गरेका छन्। अटेर गरेमा उपलब्ध प्रमाणका आधारमा संलग्न व्यक्तिलाई कानुनी कारबाहीमा ल्याइने चेतावनी दिइएको छ।

Facebook Comments Box