असोज १ गतेदेखि बिपी राजमार्ग २४ सै घण्टा सञ्चालन हुने

काभ्रेपलाञ्चोक, ३१ भदौ – यस वर्ष मनसुन सुरु भएदेखि जोखिमपूर्ण अवस्थाका कारण राति सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्ग आगामी असोज १ गतेदेखि पूर्ण रूपमा २४ सै घण्टा सञ्चालनमा आउने भएको छ ।

जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकमा सोमबार बसेको सुरक्षा समितिको बैठकले मनसुन अन्त्य हुँदै गएको र आगामी दसैँ, तिहारलगायत चाडपर्वमा यात्रुहरुको सहजतालाई ध्यानमा राखी राजमार्ग २४ सै घण्टा सञ्चालन गर्ने निर्णय गरेको हो । बैठकले सडक सुरक्षामा आवश्यक सतर्कता अपनाउँदै स्वीकृत सुरक्षा कार्ययोजनाअनुसार निर्णय लिइएको जनाएको छ ।

कार्यालयका अनुसार गत असार पहिलो सातादेखि राजमार्गको धुलिखेलदेखि सिन्धुलीको नेपालथोकसम्मको खण्डमा रातिको समयमा १२ घण्टासम्म सवारी आवागमन पूर्ण रूपमा रोक लगाइएको थियो । बाढी–पहिरोको उच्च जोखिमलाई मध्यनजर गर्दै पटक–पटक सूचना जारी गरी रोक कायम गरिएको थियो । पछिल्लो पटक भदौ १६ गतेदेखि १५ दिनका लागि रोक लम्ब्याइएको थियो ।

सहायक प्रमुख जिल्ला अधिकारी सुदर्शन श्रेष्ठका अनुसार मनसुन अवधिमा राजमार्गमा यात्रा गर्नु जोखिमपूर्ण भएकाले रातिको समयमा निजी तथा सार्वजनिक सवारी सञ्चालनमा रोक लगाइएको थियो । तर असोज १ गतेदेखि राजमार्ग पूर्ण रूपमा सञ्चालन गर्ने निर्णय भएको हो ।

विशेषगरी काभ्रेभञ्ज्याङदेखि सिन्धुलीको खुर्कोटसम्मका विभिन्न स्थानमा जोखिम बढेपछि यसअघि यातायात रोकिएको थियो । काठमाडौंतर्फ जाने सवारीलाई काभ्रेभञ्ज्याङमा र काठमाडौँ फर्किने सवारीलाई नेपालथोकमा रोक्ने व्यवस्था गरिएको थियो ।

गत असार ७ गतेदेखि काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछाप जिल्लाका सुरक्षा समितिहरूको अन्तरजिल्ला समन्वय बैठकले साँझ ६ः३० बजेदेखि बिहान ५ बजेसम्म, साउन महिनाभर साँझ ५ बजेदेखि बिहान ५ बजेसम्म राजमार्ग बन्द गर्ने निर्णय गरेको थियो ।

गत वर्षको असोज महिनामा आएको बाढीपहिरोले चौकीडाँडादेखि वर्षेखोलासम्म आठ किलोमिटर सडक बगाएपछि अस्थायी रूपमा आवागमनको व्यवस्था गरिएको थियो । सो घटनाले राजमार्गको तेस्रो खण्ड (खुर्कोट–नेपालथोक ३४ किमी) र चौथो खण्ड (नेपालथोक–धुलिखेल ५० किमी) मा ठूलो क्षति पुर्‍याएको थियो ।

हाल क्षतिग्रस्त भागलाई स्थायी रूपमा निर्माण गर्न चार खण्डमा ठेक्का प्रक्रियालाई अघि बढाइएको कार्यालयले जनाएको छ । पूर्वी नेपाललाई छोटो दूरीमार्फत जोड्ने महत्त्वपूर्ण राजमार्ग भएकाले दैनिक हजारौँ सवारीसाधन यसमार्ग हुँदै आवतजावत गर्छन् ।

Facebook Comments Box