जेन–जी प्रदर्शनमा मारिएकामध्ये ३० जनाको पोस्टमार्टम सकियो, २७ जनाको शव परिवारले बुझे
काठमाडौँ, ३० भदौ – जेन–जी आन्दोलनका क्रममा ज्यान गुमाएका ३० जनाको शव पोस्टमार्टम सकिएको छ । तीमध्ये २७ जनाको शव आफन्तले बुझिसकेका छन् भने बाँकी ३ शव अझै अस्पतालमै छन्।
शिक्षण अस्पताल महाराजगञ्जको फोरेन्सिक विभागमा २३ र २४ भदौको प्रदर्शनमा मृत्यु भएका ४६ जनाको शव ल्याइएका थिए। फोरेन्सिक विभाग प्रमुख डा. गोपाल चौधरीका अनुसार अझै १६ शवको पोस्टमार्टम गर्न बाँकी छ।
“बाँकीमध्ये ७ शव पूर्ण रूपमा जलेका छन् र चिन्नै नसकिने अवस्थामा छन्,” डा. चौधरीले बताए, “यी शवको पहिचानका लागि हामीलाई डीएनए परीक्षण गर्नुपर्नेछ।”
उनका अनुसार आगलागीमा परेका शवको पोस्टमार्टम प्रक्रिया लामो र जटिल हुन्छ। पहिलो चरणमा मृतकको उचाइ, तौल, शरीरमा भएको दाग वा ट्याटु जस्ता विवरणको आधारमा पहिचान प्रयास गरिन्छ।
यदि यसरी पनि पहिचान नखुलेमा फिङ्गरप्रिन्ट, डेन्टल एक्जामिनेसन र अन्तिममा डीएनए परीक्षण गरिन्छ। प्रहरी तथ्यांकअनुसार, देशभर अहिलेसम्म ७२ जनाको मृत्यु पुष्टि भइसकेको छ। सरकारले आन्दोलनमा ज्यान गुमाएकाहरूलाई शहीद घोषणा गर्ने निर्णय गरेको छ।
साथै, मृतकका परिवारलाई तत्काल काजकिरिया खर्चका लागि १ लाख रुपैयाँ उपलब्ध गराउने र क्षतिपूर्ति स्वरूप १० लाख रुपैयाँ दिने निर्णय पनि गरिएको गृहमन्त्री ओमप्रकाश अर्यालले जनाएका छन्। सरकारले राष्ट्रिय झण्डा झुकाउने र शोक दिवस मनाउने घोषणा पनि गरेको छ।

