आजको मौसम पूर्वानुमान : देशभर वर्षा

काठमाडौँ, ३० भदौ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान नजिकै रहेकाले देशभर मनसुनको प्रभाव कायम छ । साथै, अरब सागर र बंगालको खाडीबाट जलवाष्पयुक्त हावाको आपूर्ति भइरहेको छ ।

महाशाखाका अनुसार आज दिनभरि साधारणतया बदली रहनेछ । देशका पहाडी भूभागका केही स्थान र तराईका केही भागमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा भने अत्यधिक भारी वर्षा पर्न सक्ने अनुमान गरिएको छ ।

आज राति पनि देशभर सामान्यतया बदली रहनेछ । लुम्बिनी प्रदेशसहित पहाडी क्षेत्रमा धेरै स्थान र तराईका केही स्थानमा मध्यम वर्षा हुने सम्भावना छ । गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका थोरै स्थानमा तथा कोशी र बागमती प्रदेशका एक–दुई स्थानमा भारी वर्षा पर्न सक्ने महाशाखाले जनाएको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा अत्यधिक भारी वर्षा हुने सम्भावना रहेकाले सतर्क रहन महाशाखाले आग्रह गरेको छ ।

Facebook Comments Box