दशैंका लागि अग्रिम टिकट बुकिङबारे आज छलफल

काठमाडौँ, २९ भदौ  – दशैंका लागि काठमाडौँबाट घर फर्किने यात्रुहरूको सहजताका लागि अग्रिम टिकट बुकिङ कहिले खोल्ने भन्ने विषयमा आज सरोकारवालाबीच छलफल हुँदैछ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा यातायात व्यवसायी, ट्राफिक प्रहरी र सम्बन्धित निकायका प्रतिनिधि सहभागी हुने गरी बैठक बोलाइएको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्यप्रसाद सिटौला (सरोज)ले सरकारको पहलमा आज दिउँसो छलफल हुने बताए।  उनका अनुसार वर्षा र शान्ति–सुरक्षाको अवस्था मूल्याङ्कन गरी मात्र निर्णय हुने छ। हालै जेनजी आन्दोलनका क्रममा भएको हिंसा, तोडफोड र आगजनीका कारण लागेको कर्फ्यु हट्दै गइसके पनि सुरक्षाबारे अझै संशय रहेको व्यवसायीहरूको भनाइ छ।

सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भएमा अग्रिम टिकट बुकिङ खोल्न व्यवसायीहरू तयार रहेको सिटौलाले बताए। यस वर्ष दशैंको टीका असोज १६ गते परेको छ।

Facebook Comments Box