अन्तरिम सरकारको नेतृत्व कार्कीलाई, संसद् विघटनबारे टुंगो अझै बाँकी
काठमाडौँ, २७ भदौ – पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई अन्तरिम सरकारको प्रधानमन्त्री बनाउने सहमति जुटे पनि संसद् विघटन गर्ने वा नगर्ने विषयमा भने निष्कर्ष ननिस्किएको छ। राष्ट्रपति कार्यालय शीतल निवासमा बिहीबार राति साढे १० बजेदेखि शुक्रबार बिहान साढे ३ बजेसम्म चलेको वार्तामा कार्कीलाई प्रधानमन्त्री बनाउनेबारे सर्वपक्षीय समझदारी बनेको हो।
तर, संसद् विघटनसम्बन्धी मागमा राष्ट्रपति रामचन्द्र पौडेल टुंगोमा पुग्न नसकेका कारण शुक्रबार बिहान ९ बजे पुनः वार्ता गर्ने निर्णय भएको छ। कार्कीलाई प्रधानमन्त्री बनाउने प्रस्ताव जेनजी प्रतिनिधिहरूबाट आएको थियो। उक्त प्रस्तावलाई राष्ट्रपति पौडेलले काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन), नेपाली सेनाका प्रधानसेनापति अशोकराज सिग्देललगायतसँग छलफल गरी अनुमोदन गरेका हुन्।
तर, संसद् रहेकै अवस्थामा गैरसांसदलाई प्रधानमन्त्री बनाउन संविधानले बाटो नदिएको तर्क उठेपछि जटिलता उत्पन्न भएको हो। राष्ट्रपति पौडेलले यस विषयमा संविधानको धारा ६१ (४) अन्तर्गत ‘बाधा अड्काउ फुकाऊ’ प्रावधान प्रयोग गर्न सक्ने सम्भावना रहेको भन्दै संविधानविद्हरूसँग परामर्श गरेका छन्।
यता, जेनजी आन्दोलनका क्रममा बिहीबार बेलुकासम्म मृतकको संख्या ३६ पुगेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म १ हजार ३३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३२२ जना घाइते अझै विभिन्न अस्पतालमा उपचाररत छन्।

