‘नेपालमा ३० करोड जनतालाई पुग्ने अन्न उत्पादन सम्भव छ’

झापा, १९ भदौ – नेपाली कांग्रेस नेता डा. शशाङ्क कोइरालाले नेपालमा १७ लाख हेक्टर खेतीयोग्य जमिनबाट ३० करोड जनसंख्यालाई पुग्ने अन्न उत्पादन गर्ने क्षमता रहेको बताउनुभएको छ। बिर्तामोडमा बुधबार नेपाली कांग्रेस आपूर्ति तथा उपभोक्ता विभागले आयोजना गरेको ‘दैनिक उपभोग्य वस्तुको सुनिश्चितता, उपभोक्ताको अधिकार हाम्रो चासो’ विषयक अन्तरसंवाद कार्यक्रममा बोल्दै उहाँले खेतीयोग्य जमिनको प्रभावकारी उपयोग भएमा नेपालमा खाद्यान्नको कुनै अभाव नहुने दाबी गर्नुभयो।

उत्पादन क्षमतामा कमी आउँदा व्यापार घाटा बढिरहेको उल्लेख गर्दै डा. कोइरालाले कृषि क्षेत्रमा युवालाई आकर्षित गर्न विशेष सरकारी योजना आवश्यक रहेको बताउनुभयो। उहाँले देश विकासको आधार नै कृषि भएकोमा जोड दिनुभयो। पार्टी आन्तरिक व्यवस्थापनतर्फ इंगित गर्दै उहाँले लोकतान्त्रिक पद्धतिमा पार्टी सञ्चालन ‘चेन अफ कमान्ड’ अनुसार हुनुपर्ने र निर्वाचित सभापतिले सबै कार्यकर्तासँग समान व्यवहार गर्नुपर्ने धारणा राख्नुभयो।

कार्यक्रममा कांग्रेस सहमहामन्त्री भीष्मराज आङ्देम्बेले उपभोक्ताका आवाज संकलन गरी सरकारसम्म पु¥याइने जानकारी दिनुभयो। उहाँले पार्टीको महाधिवेशन २०८३ मङ्सिरभित्र सम्पन्न हुने उल्लेख गर्दै समयमै क्रियाशील सदस्यता नवीकरण गर्न आग्रह गर्नुभयो। ऊर्जामन्त्री दीपक खड्काले अस्थिर सरकारका कारण अर्थतन्त्र कमजोर बनेको भन्दै कांग्रेस–एमाले संयुक्त सरकारको आवश्यकता रहेको धारणा व्यक्त गर्नुभयो।

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले उपभोक्ता, उत्पादक र बिक्रेताबीच सन्तुलन कायम गर्न राज्यको भूमिका महत्त्वपूर्ण रहेको बताउँदै खाद्य मिसावट, विषादी प्रयोग र नियमनकारी निकायको कमजोरीबारे चिन्ता व्यक्त गर्नुभयो।कार्यक्रममा केन्द्रीय सदस्य सरिता प्रसाईं, नेताहरू गोमा भट्टराई, उर्मिला थपलिया, प्रेमराज महर्जन र झापा कांग्रेस सभापति देउकुमार थेवेललगायतले सम्बोधन गर्नुभएको थियो।

Facebook Comments Box