प्रधानमन्त्री ओली स्वदेश फिर्ता
काठमाडौँ, १८ भदौ – प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमण सम्पन्न गरी आज स्वदेश फर्कनुभएको छ। उहाँले चिनियाँ राष्ट्रपति सी चिनफिङको निमन्त्रणामा शाङ्घाई सहयोग सङ्गठन (एससिओ) शिखर सम्मेलनमा सहभागी हुन यही भदौ १४ गते २३ सदस्यीय प्रतिनिधिमण्डलसहित चीनको तियाञ्जिन प्रस्थान गर्नुभएको थियो।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अतिविशिष्ट कक्षमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले उहाँलाई स्वागत गर्नुभयो।प्रधानमन्त्रीको स्वागतका लागि नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख तथा नेपालस्थित चिनियाँ दूतावासका प्रतिनिधि विमानस्थल पुगेका थिए।
यस अवसरमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो। स्वदेश फर्कनुअघि प्रधानमन्त्री ओलीले आजै बेइजिङमा आयोजित ८०औँ वार्षिकोत्सव तथा विशेष सैनिक परेड कार्यक्रममा पनि सहभागिता जनाउनुभएको थियो।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले भदौ १६ गते तियाञ्जिनमा आयोजित शिखर सम्मेलनलाई सम्बोधन गर्नुका साथै चीनका राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रूसी राष्ट्रपति भ्लादिमीर पुटिनलगायत विश्व नेतासँग छुट्टाछुट्टै भेटवार्ता गर्नुभएको थियो। सन् २००१ मा स्थापना भएको एससिओ विश्वकै ठूलो क्षेत्रीय संगठनमध्ये एकका रूपमा विकसित भइसकेको छ।
चीन, रूस, भारत, पाकिस्तान, काजकिस्तान, कीर्गिस्तान, ताजिकिस्तान, उज्बेकिस्तान, इरान र बेलारुस यसका पूर्ण सदस्य हुन् भने अफगानिस्तान र मङ्गोलिया पर्यवेक्षक राष्ट्रका रूपमा छन्। नेपालसहित टर्की, श्रीलङ्का, अजरबैजान, आर्मेनिया, कम्बोडिया, इजिप्ट, कतार, साउदी अरेबिया, कुवेत, माल्दिभ्स, म्यानमार, बहराइन र संयुक्त अरब इमिरेट्स संवाद साझेदार (डायलग पार्टनर) का रूपमा रहेका छन्।
प्रधानमन्त्री ओलीसँग धर्मपत्नी राधिका शाक्य, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्त, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डे, नेपाली कांग्रेस सांसद पूर्णबहादुर खड्का, प्रधानमन्त्रीका आर्थिक तथा विकास सल्लाहकार डा. युवराज खतिवडा, नेकपा (एमाले) सांसद छविलाल विश्वकर्मा तथा उच्चस्तरीय सरकारी अधिकारीहरू सहभागी रहनुभएको थियो।

