उत्तराखण्डमा बर्डफ्लु सङ्क्रमण देखिएसँगै सीमा क्षेत्रमा कडाइ, कुखुराजन्य पदार्थ आयातमा रोक

बैतडी, १८ भदौ – भारतको उत्तराखण्ड राज्यमा बर्डफ्लु सङ्क्रमण देखिएसँगै नेपालको सीमाक्षेत्रमा उच्च सतर्कता अपनाइएको छ । नेपाल प्रवेश रोक्न बैतडीको दशरथचन्द नगरपालिका र पञ्चेश्वर गाउँपालिकामा कडाइ गरिएको छ ।

भेटेरीनरी अस्पताल तथा पशुसेवा विज्ञ केन्द्र बैतडीका प्रमुख गुमानी पन्तका अनुसार भारतको बागेश्वर र उधमसिंह नगरलगायतका जिल्लामा सङ्क्रमण पुष्टि भएपछि नेपालमा रोग नफैलियोस् भनेर सीमा क्षेत्रमा निगरानी बढाइएको हो ।

“सीमा जोडिएको जिल्ला भएकाले जोखिम बढेको छ, त्यसैले उच्च सतर्कता अपनाएका हौँ,” प्रमुख पन्तले बताउनुभयो ।

दशरथचन्द र पञ्चेश्वर दुवै पालिकाले सूचना जारी गर्दै कुखुरा तथा कुखुराजन्य पदार्थ आयातमा रोक लगाएका छन् । सूचनाको अवज्ञा गरी भित्र्याउनेलाई कानुनबमोजिम कारबाही गरिने चेतावनी पनि दिइएको छ ।

बर्डफ्लु कुखुरा र पक्षीमा देखिने अतिसङ्क्रामक रोग हो, जसबाट मानिसमा समेत सङ्क्रमण फैलिन सक्छ । यस रोगका लक्षणमा उच्च ज्वरो, टाउको दुख्ने, खोकी, घाँटी दुख्ने र श्वास फेर्न गाह्रो हुने देखिन्छ । रोग गम्भीर भएमा निमोनिया र श्वासप्रश्वास समस्या उत्पन्न भई ज्यान जाने खतरा पनि हुन्छ ।

Facebook Comments Box