इम्बोस्ड नम्बर प्लेट नेपाली भाषामै राख्न भाषा आयोगको आग्रह

काठमाडौँ, १८ भदौ – भाषा आयोगले सवारीसाधनमा जडान हुने विद्युतीय सङ्केत (इम्बोस्ड नम्बर प्लेट) नेपाली भाषामै राख्नुपर्नेमा जोड दिएको छ। संविधानको धारा ७ को उपधारा १ अनुसार सरकारी कामकाजको भाषा नेपाली हुने व्यवस्था स्पष्ट पार्दै आयोगले अंग्रेजी भाषामा नम्बर प्लेट राख्ने प्रचलनप्रति आपत्ति जनाएको हो।

आयोगका अध्यक्ष डा. गोपाल ठाकुरका अनुसार सर्वोच्च अदालतले २०८१ असार ९ मा गरेको फैसलाले समेत नेपाली भाषाको वर्णविन्यास प्रयोग गर्नुपर्ने संवैधानिक प्रावधानलाई पुष्टि गरेको छ। उक्त फैसलामा संविधानको धारा ७(३) को व्यवस्था अनुसार भाषासम्बन्धी निर्णय भाषा आयोगको सिफारिसमा नेपाल सरकारले गर्नुपर्ने स्पष्ट गरिएको छ।

यसै आधारमा आयोगले भदौ १ गतेको आफ्नै निर्णयलाई कार्यान्वयन गर्न आग्रह गर्दै नेपाल सरकारलाई पुनः ध्यानाकर्षण गराएको हो। ठाकुरले देवनागरी लिपीमा नै विद्युतीय सङ्केत (नम्बर प्लेट) राख्नुपर्ने आयोगको धारणा स्पष्ट गर्दै सबै तहका सरकारलाई सोही बमोजिम कार्यान्वयन गर्न आग्रह गरिएको जानकारी दिनुभयो।

Facebook Comments Box