अफगानिस्तान भूकम्पमा मृतककाे संख्या ८ सय नाघ्यो, २,५०० भन्दा बढी घाइते

काबुल, भदौ १६ – अफगानिस्तानको पूर्वी कुनर प्रान्तमा आइतबार राति गएको ६ म्याग्निच्युडको भूकम्पमा ज्यान गुमाउनेको संख्या ८१२ पुगेको छ । अफगान गृहमन्त्रालयका अनुसार कुनर र नानगरहार प्रान्तमा गरी २,५०० भन्दा बढी घाइते भएका छन् । मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ ।

विज्ञहरूले भूकम्प जमिनको सतह नजिकै गएको कारण क्षति अत्यधिक भएको बताएका छन् । प्रभावित क्षेत्रमा दर्जनौँ गाउँ पूर्ण रूपमा नष्ट भएको बताइएको छ ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता सराफत जमानका अनुसार अस्पतालहरू घाइतेले भरिएका छन् । उता, अफगान रक्षा मन्त्रालयले आपतकालीन राहतका लागि ३० जना चिकित्सक र ८०० किलो औषधि कुनर पठाइएको जनाएको छ ।

उद्धार र राहत कार्य जारी रहेको तर भौगोलिक अवरोध र अव्यवस्थित पूर्वाधारका कारण कठिनाइ भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन् ।

Facebook Comments Box