फोहोरमैला व्यवस्थापनमा कोशी प्रदेश र स्थानीय तहबीच सहकार्य
विराटनगर, १४ भदौ
कोशी प्रदेश सरकारले फोहोरमैला व्यवस्थापनलाई दीर्घकालीन र प्रविधिमुखी बनाउन स्थानीय तहसँग सहकार्य गर्ने भएको छ । शुक्रबार मोरङ र इलामका ६ वटा स्थानीय तहसँग प्रदेश सरकारको भौतिक पूर्वाधार विकास तथा स्वास्थ्यमन्त्रालयले रणनीतिक साझेदारी सम्झौता गरेको हो ।
सम्झौता कार्यक्रममा मन्त्री भुपेन्द्र राईले अब फोहोर व्यवस्थापनमा अत्याधुनिक प्रविधि प्रयोग हुने जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “प्रदेश सरकार केवल अनुदान दिने मात्र होइन, व्यवस्थापनलाई टेवा पुग्ने प्रविधि र उपकरण पनि उपलब्ध गराउँछ ।”
मन्त्री राईका अनुसार यो साझेदारी नेपालकै लागि नौलो र नमूना कार्यक्रम हो । उहाँले प्रत्येक गाउँ–नगरपालिका समुन्नत र स्वस्थ्य नबनी प्रदेशले दिगो प्रगति गर्न नसक्ने भन्दै सबैलाई प्रतिबद्ध भएर काम गर्न आग्रह गर्नुभयो । सम्झौतामा मोरङका रङ्गेली, सुनवर्षी, रङ्गेली नगरपालिका, धनपालथान र कानेपोखरी गाउँपालिका तथा इलामका सूर्योदय नगरपालिका र रोङ गाउँपालिकाले हस्ताक्षर गरेका छन् ।
रङ्गेली नगरप्रमुख दिलीप बगडिया (अग्रवाल)ले सम्झौताअनुसार फोहोरमैला व्यवस्थापनमा लाग्ने कुल लागतको ५० प्रतिशत खर्च मन्त्रालयले व्यहोर्ने जानकारी दिनुभयो । उहाँका अनुसार, १२ करोड रुपैयाँ बराबरको योजनामा स्थानीय तहले बढीमा पाँच करोड रुपैयाँसम्म लगानी गर्ने र त्यसअनुसार प्रदेश सरकारले चार करोड रुपैयाँसम्म सहयोग गर्ने व्यवस्था मिलाइएको छ ।
प्रदेश सरकारसँग सहकार्यमा सुरु गरिएको यो कार्यक्रम नेपालकै पहिलो प्रयास भएको बताइएको छ । यसबाट फोहोर व्यवस्थापनलाई व्यवस्थित, दिगो र प्रविधिमुखी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । सम्झौतापत्रमा वातावरणमैत्री प्रविधि प्रयोग, स्रोतमै छटाइ, पुनःप्रयोग र प्रशोधन प्रवर्द्धन गर्ने विषयमा सहमति भएको छ ।
मन्त्रालयका अनुसार यस सहकार्यले नगर तथा गाउँपालिकामा दीर्घकालीन रूपमा देखिँदै आएको फोहोर व्यवस्थापनको समस्या समाधान हुने अपेक्षा गरिएको छ । कार्यक्रममा प्रदेशका जनप्रतिनिधि, नगरप्रमुख, गाउँपालिका अध्यक्ष तथा सरोकारवालाको उपस्थिति रहेको थियो ।

