अब पोखराबाट अष्ट्रेलिया उडान

काठमाडौँ, १२ भदौ

पोखरा अन्तरराष्ट्रिय विमानस्थलबाट अष्ट्रेलिया उडान हुने भएको छ। चीनको सिचुवान एयरलाइन्सले छेन्दु हुँदै अष्ट्रेलिया जाने तयारी गरेको हो। यसका लागि एयरलाइन्सले नेपाल नागरिक उड्डयन प्राधिकरणसँग अनुमति मागेको प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भूलले जानकारी दिनुभयो।

उहाँका अनुसार हाल अनौपचारिक छलफल भएको छ भने प्रक्रिया पूरा गरी छिट्टै अनुमति दिने तयारी भइरहेको छ। कम्पनीले आगामी सेप्टेम्बर महिनाबाट उडान सुरु गर्ने योजना बनाएको छ। “सिचुवान एयरलाइन्सले पोखराबाट छेन्दु हुँदै अष्ट्रेलिया उडान गर्ने योजना ल्याएको छ। औपचारिक प्रक्रिया टुंग्याउने काम जारी छ,” सूचना अधिकारी भूलले बताउनुभयो।

यसैबीच, भूटान एयरलाइन्स (टासी)ले पोखरा विमानस्थलबाट चार्टर्ड उडान सुरु गर्ने तयारी गरेको छ। कम्पनीले सेप्टेम्बर २८ र अक्टोबरमा पारो इन्टरनेसनल एयरपोर्टका लागि यात्रु चार्टर्ड उडानको अनुमति मागेको प्राधिकरणले जनाएको छ। भूलका अनुसार, नियमित उडान दिगो भएमा भूटान एयरलाइन्सले पारो–पोखरा–दिल्ली र दिल्ली–पोखरा–पारो मार्गमा सेवा विस्तार गर्ने योजना बनाएको छ।

पोखरा विमानस्थलमा अहिले हिमालय एयरलाइन्सले मात्र हप्तामा एक दिन ल्हासा–पोखरा–ल्हासा मार्गमा नियमित उडान गर्दै आएको छ। अन्य अन्तर्राष्ट्रिय एयरलाइन्सका उडान सुरु भए विमानस्थल थप व्यस्त हुने प्राधिकरणको विश्वास छ।

भैरहवास्थित गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थलमा पनि विदेशी वायुसेवा विस्तार हुँदैछ। जजिरा एयरवेज र थाई एयर एसियाले अक्टोबरदेखि पुनः नियमित उडान गर्ने तयारी गरेका छन्। थाई एयर एसियाले हप्तामा दुई उडान गर्ने योजना बनाएको छ।

सरकारले पोखरा र भैरहवाबाट हुने अन्तरराष्ट्रिय उडानलाई प्रोत्साहन गर्न आकर्षक छुटको व्यवस्था गरेको छ। यी विमानस्थलमार्फत हुने उडानमा पार्किङ, ल्यान्डिङ र न्याभिगेसन शुल्कमा पूर्ण छुट, साथै नेपाल एयरलाइन्सको ग्राउन्ड ह्यान्डलिङ शुल्कमा ७५ प्रतिशत छुट दिइएको छ। यससँगै, पोखरा र भैरहवाबाट विदेशी वायुसेवा विस्तार हुने र यात्रुका लागि अन्तर्राष्ट्रिय गन्तव्यसम्म पुग्न सहज हुने अपेक्षा गरिएको छ।

Facebook Comments Box