पुल नहुँदा ‘मेची पारि’को विद्यालयमा पठनपाठन ठप्प
झापा, ९ भदौ
मेची पारिको नेपाल’ भनेर चिनिने मेचीनगर–१५ स्थित ग्वालबस्तीको मेची आधारभूत विद्यालयमा अहिले पठनपाठन पूर्ण रूपमा अवरुद्ध भएको छ। विद्यालय बन्द हुनुको कारण विद्यार्थी वा शिक्षकको कमी होइन, मेची नदीमा पुल नहुँदा बर्खायाममा शिक्षक विद्यालय पुग्न नसक्नु हो।
कक्षा २ सम्म सञ्चालन हुने विद्यालयमा दुई शिक्षक र एक कर्मचारी कार्यरत छन्। तर, उनीहरू सबै मेची वारि बसोबास गर्ने भएकाले बर्खायामको भेलमा नदी पार गर्न नसक्ने बाध्यता छ।
विद्यालयका प्रधानाध्यापक लोकेन्द्र थपलियाले भन्नुभयो, “गत साउन २५ गतेदेखि विद्यालय खुल्नुपर्ने थियो। तर, मेची नदीमा पुल नभएकाले हामी पुग्न सक्दैनौं। बर्खापछि मात्र पढाइ सुरु हुन्छ।”
वैकल्पिक उपायका रूपमा काँकडभिट्टा वा भद्रपुरको पुल तरेर भारतीय भूभाग हुँदै पुग्नुपर्छ, तर त्यो दूरी ३०–४० किलोमिटर पर्छ। त्यसैले विकल्प पनि असम्भवजस्तै छ।
यसै कारण विसं २०५७ मा स्थापना भएको विद्यालयमा हरेक वर्ष असारदेखि असोजसम्म पढाइ बन्द हुने गरेको छ। अहिले विद्यालयमा ११ जना मात्र विद्यार्थी छन्।
गाउँमा ५० परिवार बसोबास गर्छन्, जसमा राजवंशी, यादव, सन्थाललगायतका आदिवासी समुदाय बहुमतमा छन्। शिक्षाप्रतिको चेतना कम भएकाले अधिकांश बालबालिका भारततिरै पढ्न जान बाध्य छन्।
विद्यालय स्थापना भएदेखि नै स्थानीयले मेची नदीमा पुलको माग गर्दै आएका छन्। तर, अझैसम्म झोलुङ्गे पुलसमेत बन्न सकेको छैन।
आर्थिक वर्ष २०८२/८३ को बजेटमा झोलुङ्गे पुल निर्माणका लागि ५ लाख रुपैयाँ मात्र विनियोजन भएको छ। वडासदस्य वृक्षलाल राजवंशी भन्छन्, “यो रकम डिपीआर बनाउनका लागि मात्र हो। तर, कहिले पुल बन्छ भन्ने अझै अनिश्चित छ।”

