पोखरा ‘ग्रेट ट्रेल’ निर्माण अन्तिम चरणमा
कास्की, ९ भदौ
पोखरा महानगरपालिका–११ मणिपाल कालिखोलादेखि काँहुको धुरीसम्म निर्माण भइरहेको ‘पोखरा ग्रेट ट्रेल’ अन्तिम चरणमा पुगेको छ। महानगरका अनुसार आगामी माघभित्र पदमार्ग निर्माण पूरा हुने छ। करीब चार हजार ५०० सिँढीमध्ये थोरै मात्र निर्माण बाँकी रहेको छ। एक किलोमिटर ८०० मिटर लम्बाइको यो पदमार्ग विसं २०८० वैशाखदेखि निर्माण थालिएको हो।
पहिलो चरणमा ३० लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा चालु आर्थिक वर्षमा ८० लाख रुपैयाँ थप बजेट छुट्याइएको छ। पोखरा महानगर प्रमुख धनराज आचार्यले ट्रेललाई पर्यटकीय दृष्टिले महत्त्वपूर्ण र आकर्षक बताउँदै बिहान–साँझ हिँड्न चाहनेका लागि उपयुक्त स्थलका रूपमा विकास हुने विश्वास व्यक्त गर्नुभयो। ट्रेलमा स्थानीय विशेषता झल्कने र यात्राका क्रममा अग्र्यानिक उत्पादनको स्वाद लिन सकिने पनि उहाँले उल्लेख गर्नुभयो।
निर्माण समितिका अध्यक्ष तीर्थबहादुर बस्नेतका अनुसार ढुङ्गा काटेर विच्छ्याइएको पदमार्ग १० फिट चौडा हुनेछ। विभिन्न चार स्थानमा विश्राम स्थल र १० ठाउँमा ‘भ्युपोइन्ट’ निर्माण हुनेछन्। पदमार्गमा रेलिङ र दायाँबायाँ तारबारले सुरक्षाको व्यवस्था पनि हुनेछ।
काँहुकोटलाई आकर्षक ‘भ्युपोइन्ट’का रूपमा प्रवर्द्धन गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ। ‘क्लिन पोखरा, ग्रीन पोखरा’ अभियानअन्तर्गत पदमार्ग छेउछाउमा ४०० फलफूलका बिरुवा रोपिएको छ। ‘मेगा अभियान’ अन्तर्गत आरु, एभोकाडो, आँप, अम्बा, लिची, कोइरालो, काइँयो, असारे, पलाँससहित दुई लाख २६ हजार विरुवा लगाउने योजना रहेको महानगरले जनाएको छ।

