आज देशका धेरै भागमा मेघगर्जन/चट्याङसहित वर्षा र हिमपातको सम्भावना

काठमाडौँ, १३ फागुन – आज मधेसबाहेक देशका अन्य सबै प्रदेशमा वर्षा र हिमपातको सम्भावना देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।महाशाखाले बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार नेपालको मौसममा पश्चिमी न्यून चापीय प्रणालीको सामान्य प्रभाव परिरहेको छ। जसका कारण अहिले सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ मा आंशिकदेखि सामान्य बदली तथा देशका बाँकी स्थानमा मौसम आंशिक बदली छ।

आज दिउँसो सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती र प्रदेश १ का धेरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। साथै देशका उच्च पहाडी र हिमाली भेगका केही स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना महाशाखाले जनाएकाे छ। मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज काठमाडौं उपत्यकामा पनि हल्का वर्षाको सम्भावना छ।

महाशाखाले आज राति सुदूरपश्चिमलगायत कर्णाली, लुम्बिनी, गण्डकी र प्रदेश १ का उच्च पहाडी र हिमाली भेगमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य स्थानमा आंशिक बदली रहनेछ। यस क्रममा सुदूरपश्चिम, कर्णाली, गण्डकी, बागमती र प्रदेश १ का थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। देशका उच्च पहाडी र हिमाली भेगमा केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना छ।

 

Facebook Comments Box