काठमाडौँमा अवैध प्लटिङ नियन्त्रणमा कडाइ गर्ने तयारी

काठमाडौँ, ४ भदौ

काठमाडौँ उपत्यका विकास प्राधिकरणले अवैध प्लटिङ, हाउजिङ र योजना अनुमतिबिना भइरहेका पूर्वाधार निर्माण नियन्त्रणमा कडाइ गर्ने तयारी गरेको छ।

प्राधिकरणका आयोजना प्रमुख तथा जिल्ला आयुक्त शुभाष बस्नेतले आज काठमाडौँमा आयोजित पत्रकार सम्मेलनमा सहरीकरणलाई व्यवस्थित बनाउन प्राधिकरण सक्रिय रहेको बताउनुभयो।

उहाँका अनुसार जग्गा प्लटिङ, संस्थागत भवन, व्यावसायिक संरचना, मिश्रित आवासीय, सभा–सम्मेलन स्थल, अस्पताल, विद्यालय र कलेज निर्माण गर्न प्राधिकरणबाट अनिवार्य योजना अनुमति लिनुपर्ने भए पनि धेरैले अनुमति नलिइकन अवैध रूपमा निर्माण गर्दै आएको पाइएको छ।

आयुक्त बस्नेतले अनुमतिबिना बिक्रीमा राखिएका घडेरी वा संरचना कानुनी रूपमा अवैध हुने भएकाले त्यसबाट पर्न सक्ने कानुनी झमेलाबारे सचेत रहन आमनागरिकलाई आग्रह गर्नुभयो।

साथै, कानुनी प्रक्रिया पूरा नगरेका ‘रियल स्टेट’ कम्पनी वा व्यक्तिबाट बिक्रीमा राखिएका घडेरीसम्बन्धी विज्ञापन प्रकाशित नगर्न सञ्चारमाध्यमलाई अनुरोध गर्दै प्राधिकरणले अवैध कित्ताकाटमा कडाइका साथ कारबाही गरिने चेतावनी दिएको छ।

Facebook Comments Box