त्रिभुवन राजपथ अवरुद्ध, ठूला ढुङ्गा पन्छाउन समस्या

मकवानपुर, ३१ साउन

त्रिभुवन राजपथअन्तर्गत भैंसे–सिमभञ्ज्याङ सडक खण्ड शनिबार बिहान पहिरोका कारण अवरुद्ध भएको छ । भीमफेदी गाउँपालिका–९ लामिडाँडामा माथिबाट ढुङ्गा र रुख खसेपछि सडक पूर्णरुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

सडक खुलाउने प्रयास जारी रहेपनि ठूला ढुङ्गा खसेका कारण दुई वटा डोजरले समेत पन्छाउन नसक्दा ब्रेकर प्रयोग गर्नुपर्ने अवस्था आएको प्रहरीले जानकारी दिएको छ । प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार ढुङ्गा फुटाउन ब्रेकर लैजाने तयारी भइरहेको छ, जसका कारण सडक सुचारु गर्न समय लाग्ने देखिएको छ । पहिरो गएको स्थान प्रहरी चौकी भैंसेबाट करिब २२ किलोमिटर पश्चिम–उत्तरमा पर्छ ।

Facebook Comments Box