शुक्लाफाँटामा कृष्णसारको संख्या तीन सय नाघ्यो

कञ्चनपुर, ३० साउन — शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा संरक्षित दुर्लभ वन्यजन्तु कृष्णसारको संख्या निरन्तर बढ्दै, तीन सय १० पुगेको छ। हाल वयस्क भाले ९३, अर्धवयस्क भाले २४, वयस्क पोथी ९९, अर्धवयस्क पोथी ४४ र ५० वटा पाठापाठी छन्।

निकुञ्जको हीरापुर फाँटामा ५८.८ हेक्टर क्षेत्रमा तारबार गरेर संरक्षण गरिएको कृष्णसार सन् २०१२ मा मात्र ७.५ हेक्टरमा सीमित थियो। त्यसपछि क्रमशः सन् २०१३, २०१५, २०१७ र २०१९ मा विस्तार हुँदै अहिलेको आकारमा पुगेको हो।

निकुञ्जका सूचना अधिकारी पुरुषोत्तम वाग्लेका अनुसार संख्यामा वृद्धिसँगै व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ। अन्य सुरक्षित क्षेत्रमा स्थानान्तरण वा निकुञ्जकै अन्य फाँटमा खुला छाड्ने विषयमा अध्ययन भइरहेको छ। चितवन राष्ट्रिय निकुञ्जमा पुनःस्थापना गर्ने प्रस्ताव समेत आएको छ।

तथ्यांक अनुसार, २०१३ मा ३१ रहेको कृष्णसारको संख्या क्रमशः बढ्दै २०२४ मा २८७ र हाल ३१० पुगेको छ। संरक्षणको सुरुवात २०६९ सालमा नेपालगञ्ज र ललितपुर चिडियाखाना, तथा २०७२ सालमा बर्दियाबाट ल्याइएका ४२ कृष्णसारबाट गरिएको हो।

कृष्णसारलाई दैनिक दाना, ढुटो, चोकर, मकै र चना खुवाइन्छ। परजीवी नियन्त्रणका लागि समय–समयमा औषधि मिसाएर दिने गरिन्छ। राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९ अनुसार कृष्णसार संरक्षित सूचीमा पर्दछ। भाले कालो र पोथी खैरो रङको यो जनावर घाँसे फाँट मन पराउँछ र प्रत्येक छ महिनामा बच्चा जन्माउँछ। हाल आन्तरिक पर्यटकको अवलोकन यात्रामा पनि वृद्धि भएको छ।

Facebook Comments Box