काठमाडौँ–तराई/मधेस द्रुतमार्ग : ४३ प्रतिशत काम सम्पन्न, खोकना जग्गा सहमति गरेर अघि बढाउने तयारी

काठमाडौँ, २९ साउन

काठमाडौँ–तराई/मधेस द्रुतमार्ग आयोजनाको करिब ४३ प्रतिशत काम सम्पन्न भएको छ। रक्षामन्त्री मानवीर राईले उपत्यकाबाहिरको जग्गा अधिग्रहण सम्पन्न भइसकेकाले खोकना क्षेत्रमा पनि स्थानीयको भावनाअनुसार सहमति गरेर अघि बढाइने स्पष्ट गरेका छन्।

राष्ट्रियसभा, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिमा मन्त्री राईले खोकना क्षेत्रमा अझै करिब ३७ प्रतिशत जग्गा प्राप्त गर्न बाँकी रहेको बताए। “जनताको आवाज सुन्नुपर्छ भन्नेमा सरकार र नेपाली सेना स्पष्ट छ,” उनले भने, “छलफलबाटै समाधान निकाल्ने प्रयास भइरहेको छ।”

प्रधान सेनापति अशोकराज सिग्देलले बाँकी काम छिटो सकिने खालका भएकाले समस्या समाधान भए निर्धारित समयमै आयोजना सम्पन्न हुने विश्वास व्यक्त गरे।

उनले खोकनाको सांस्कृतिक पक्षलाई जोगाएर विस्तृत परियोजना प्रतिवेदन तयार गरिएको र आवश्यक परे वैकल्पिक प्रवेश बिन्दु पनि तयार भएको बताए।

सांसदहरूले रणनीतिक महत्वको यो आयोजना समयमा सक्न र निर्माणमा देखिएका अवरोध हटाउन सरकारलाई सक्रिय हुन आग्रह गरेका छन्।

Facebook Comments Box