चार महिनामा २,६७५ विपद्का घटना, ११७ जनाको मृत्यु
काठमाडौँ, २५ साउन
गत वैशाखदेखि साउन २४ गतेसम्म देशभर २,६७५ वटा विपद्का घटना दर्ता भएका छन्। यी घटनाबाट ४,७२५ घरपरिवार प्रभावित भएका छन्। उक्त अवधिमा ११७ जनाले ज्यान गुमाएका छन् भने ५६४ जना घाइते भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढीजन्य मात्र १९८ घटना भए, जसमा १६ जनाको मृत्यु र २१ जना बेपत्ता भएका छन्। बाढीबाट १,३१३ घरपरिवार प्रभावित भएका छन्।
प्राधिकरणको तथ्याङ्कअनुसार पहिरोका २८१ घटना भए, जसमा १३ जनाको मृत्यु र १७ जना घाइते भए। अन्य घटनामा भारी वर्षाका १७४, चट्याङका २४४, सर्पदंशका ७४, आगलागीका १,०६६, वन डढेलोका १५८, हावाहुरीका २७६, जनावर आक्रमणका १५३, लेक लागेका ४१ तथा भूकम्पका ५ घटना रहेका छन्। यी सबै विपद्का घटनाबाट २२ जना बेपत्ता भएका छन्।
साउन २४ गतेको दिन मात्र ३५ विपद्का घटना दर्ता भएका थिए। तीमध्ये १३ पहिरो, ५ अविरल वर्षा, ४ आगलागी, १ बाढी, १ चट्याङ, २ लेक लाग्ने र १ जनावर आक्रमणको घटना समावेश छन्। सो दिनका घटनाबाट ६ जना घाइते भएका छन्।

