अलैँचीको मूल्य बढेपछि भोजपुरमा खेती विस्तार

भोजपुर, २५ साउन

अलैँचीको मूल्य बढेसँगै भोजपुरका किसान फेरि खेती विस्तारमा जुटेका छन्। गत वर्ष प्रतिमन मूल्य एक लाखदेखि एक लाख दुई हजार रुपैयाँसम्म पुगेपछि किसान उत्साहित भई नयाँ बगैँचा लगाउने र पुराना बगैँचाको संरक्षणमा सक्रिय भएका छन्।

टेम्केमैयुङ–५ का किसान शिवकुमार विष्टका अनुसार केही वर्षअघिसम्म मूल्य घटेकाले बगैँचा विस्तार रोकिएको थियो। तर अहिलेको मूल्यवृद्धिले परम्परागत बाली हटाएर पुनः अलैँची खेतीतर्फ किसान फर्किएका छन्।

अलैँची व्यवसायी महासङ्घका अध्यक्ष राजेश विष्टले बजारको माग र मूल्य स्थिर रहँदै गएमा आम्दानी अझ बढ्ने अपेक्षा व्यक्त गर्दै रोग–कीरा नियन्त्रणका लागि प्रत्येक अलैँची जोनमा कृषि प्राविधिक नियुक्त गर्नुपर्ने सुझाव दिएका छन्। उनका अनुसार माटो परीक्षण र आधुनिक नर्सरी स्थापना गर्न सके उत्पादन र गुणस्तर दुवैमा सुधार हुने छ।

टेम्केमैयुङ–५ मा मात्र करिब १५० किसान व्यावसायिक रूपमा अलैँची खेती गर्दै आएका छन्। कृषि ज्ञान केन्द्रका अनुसार हाल जिल्लामा ५९७ हेक्टर क्षेत्रमा अलैँची उत्पादन भइरहेको छ। रामशाही, गोलशाही, डम्बरशाही र जिर्मले जातका अलैँची खेती हुने जिल्ला चोलन्ती, दोभाने, कुदाकाउले, साम्पाङ, अन्नपूर्ण, चम्पे, खावा, छिनामखु, किमालुङ, वासिङथर्पु, तिम्मा, हेलौछा र गुप्तेश्वरलगायत क्षेत्रमा बढी फैलिएको छ।

Facebook Comments Box