म्याग्दीमा खानेपानी, सिँचाइ र नदी नियन्त्रणका ६९ योजना सम्पन्न

म्याग्दी, २३ साउन

म्याग्दीको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास डिभिजन कार्यालयले आर्थिक वर्ष २०७८/८२ मा खानेपानी, सिँचाइ, नदी नियन्त्रण र ऊर्जासम्बन्धी कुल ६९ वटा योजना सफलतापूर्वक कार्यान्वयन गरेको छ। कूल रु १३ करोड ९९ लाख ८ हजार विनियोजनमा रु १३ करोड १९ लाख ९२ हजार खर्च गरिएको डिभिजन प्रमुख झलकमोहन ओझाले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रदेशका ६७ मध्ये ६४ योजना र सङ्घीय सशर्त ५ योजना कार्यान्वयन भएका हुन्। यी योजनाहरूमा २६ वटा स्रोत सुनिश्चितता, २८ वटा क्रमागत तथा १८ वटा सालबसाली योजना रहेका छन्। खानेपानीका १७, सिँचाइ र नदी नियन्त्रणका छ–छ वटा योजना र ऊर्जा तथा अध्ययन–सर्वेक्षणका एक–एक योजना सम्पन्न भएका छन्।

खानेपानी योजनाबाट १,२८३ वटा धारा निर्माण भएका छन् जसमा ९३१ धारा मिटर जडान गरी पानी वितरण भइरहेको छ। तीन हजार ११९ मिटर मुख्य र १०६ किलोमिटर शाखा पाइपलाइन, २२ वटा रिजर्भ ट्याङ्कीहरू (क्षमताः ४,०७२ घनमिटर) र २७७ वटा अन्य संरचना निर्माण गरिएका छन्।

सिँचाइ आयोजनाबाट ५२ हेक्टर क्षेत्रफलमा नयाँ सिँचाइ सुविधा विस्तार र ७० हेक्टरमा स्तरोन्नति भएको छ। पक्की नहर ६ किलोमिटर, पाइपलाइन ६ दशमलव ११ किलोमिटर, पाँच वटा बाँध र ४७ वटा सिँचाइ संरचना निर्माण गरिएका छन्। नदी नियन्त्रण अन्तर्गत ४० मिटर पक्की पर्खाल र २५० मिटर ग्याबियन पर्खाल निर्माण गरि बाढी तथा कटानको जोखिम कम गरिएको छ। रघुगङ्गा–१ बेगमा ३०० थान ग्याबियन पर्खालले पहिरो रोकथाम गरेको छ।

नदी तथा पहिरो नियन्त्रण योजनाले ११० घरपरिवारलाई लाभान्वित बनाएको र २.५ हेक्टर जमिन उकासिएको डिभिजन प्रमुख ओझाले बताउनुभयो। यसैगरी, ११४ घरमा जडान भएका सौर्य ऊर्जाका उपकरणहरूको मर्मतसम्भार गरिएको छ।

Facebook Comments Box